मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूपदार्थ वा लागूऔषध हो । यसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हानि पु¥याउँछ । शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूऔषध भनिन्छ । लागूऔषधले मानिसको केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।

लागूपदार्थलाई मुख्य दुई भागमा विभाजन गर्ने गरिएको छ । एउटा, प्राकृतिक लागूपदार्थ, जसअन्तर्गत प्राकृतिकरुपमा उम्रने वा मानिसद्वारा उत्पादित पदार्थहरु पर्दछन् । गाँजा, चरेस, भाङ्ग, धतुरो, अफिम, मदिरा आदिलाई प्राकृतिक लागूपदार्थ हुन् । अर्को, औषधिजन्य लागूपदार्थ, जसअन्तर्गत मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरु जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् । नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन आदि औषधिजन्य लागूपदार्थ हुन् ।

लागूऔषधलाई कानुनद्वारा निषेधित र कानुनद्वारा नियन्त्रित गरी दुई भागमा विभाजन गर्न पनि सकिन्छ । गाँजा, चरेस, अफिम आदि कानुनद्वारा निषेधित लागूऔषध हो । यसको सेवन, बिक्री वितरण, ओसारपसार तथा खेतीपाती गैरकानुनी मानिन्छ । मदिराजन्य पदार्थ, सुर्तीजन्य पदार्थ र औषधिजन्य लागूपदार्थ कानुनद्वारा नियन्त्रित लागूऔषध हुन् । यस्ता लागूऔषधलाई निश्चित मापदण्ड र नियमभित्र रहेर सेवन गर्न सकिन्छ । नेपालमा यी दुबै प्रकारका लागूऔषध ठूलो समस्या बनिरहेको छ ।

नेपालका पहाड तथा तराईका विभिन्न क्षेत्रमा अझै पनि गाँजा तथा अफिमको खेती हुँदै आएको छ । सुरक्षा निकायको कमजोर उपस्थिति, मिलेमतो, चाँडै धनी बन्ने चाहनाले यस्ता लागूऔषधको उत्पादन, ओसारपसार, बेचविखन र सेवन अन्त्य हुन सकेको छैन । भारतीय बजारमा सजिलै किन्न पाइने औषधिजन्य लागूऔषधको ओसारपसार, खरिदबिक्री र सेवन पनि उत्तिकै जटिल देखिएको छ । लागूऔषधको दुरुपयोगले व्यक्ति स्वयम्का साथै परिवार, समाज र देश सबैलाई शिकार बनाइरहेको छ ।

लागूऔषध उत्पादन, ओसारपसार र दुव्र्यसन सबै आधारमा मकवानपुर जिल्ला अग्रस्थानमा आउने गरेको छ । दिनहुँजसो प्रहरीले लागूऔषध बरामद गरेको समाचारले मकवानपुर जिल्ला लागूऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट नै बनिरहेको पुष्टि गर्दछ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पनि लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न प्रकारका औषधिजन्य लागूऔषध बरामद गरेको छ । मध्ये तराईबाट हेटौंडा प्रवेश गर्ने मुख्य नाका रातोमाटे चेकपोष्ट र हेटौंडा बसपार्क क्षेत्रबाट धेरैजसो लागूऔषधसहित ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने गरेका छन् । मकवानपुरको पश्चिम पहाडी क्षेत्रमा गाँजा खेती व्यापक हुने गरेका कारण यहाँबाट तराईतिर लैजाँदै गरेको गाँजा र चरेस पनि प्रहरीले उल्लेख्य मात्रामा बरामद गर्दै आएको छ ।
लागूऔषध र यसको दुव्र्यसन सबै देश र क्षेत्रको साझा र भयावह समस्या हो । सबै देशका मानिसहरु लागूऔषध दुव्र्यसनको शिकार बन्ने गरेका छन् । नेपालमा लागूऔषधको दुव्र्यसन तथा अवैध ओसारपसार र त्यसबाट सृजित अन्य अपराधहरु ज्यादै गहन समस्या बनेका छन् ।

यसले अन्तर्राष्ट्रियरुपमा नेपालको बद्नामसमेत गराइरहेको छ । संगठित तस्करहरुले नेपाललाई लागूऔषध ओसारपसारको माध्यम बनाइरहेका छन् । लागूऔषध दुव्र्यसनको समस्याले बढिजसो युवा जनशक्ति प्रभावित भइरहेका छन् । किशोरावस्था र युवा अवस्थाका व्यक्तिहरु लागूऔषध दुव्र्यसनमा फस्दै जाने हो भने त्यसले व्यक्ति, परिवार, समाज र देशकै भविष्य अन्योल हुन्छ । लागूऔषध उत्पादन, ओसारपसार, बिक्री वितरण तथा दुव्र्यसन नियन्त्रणका लागि सबै पक्षको चासो र सक्रियता आवश्यक हुन्छ ।