लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका लुइटेल र धामी ।

हेटौँडाः लागुऔषध खैरो हेरोइनसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार राती २ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ का ४१ वर्षीय दामोदर लुईटेल र १८ वर्षीय सन्देश राज धामीलाई २ सय २२ ग्राम २६ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काकडभिट्टाबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ००६ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई रोकेर सुरक्षाजाँच गर्दा लागुऔषधसहित लुइटेल र धामीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद अनुमति लिई लुइटेल र धामीलाई हिरासतमै राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।