हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा विनयबाबु स्मृति भलिबल प्रतियोगिता हुने भएको छ । बिनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा तथा थाहा नगरपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा कार्तिक १४ गतेदेखि १७ गतेसम्म सातौं संस्करणको जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता २ नम्बर वडाको फाँटबजारमा हुनेछ ।
प्रतियोगितामा मकवानपुर जिल्लाभका १६ टिमहरुको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिनुभएको छ । प्रतिष्ठानले दिपावलीको अवसर पारेर विगत ६ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
तृतीय हुने टिमले ११ हजार १ सय ११ रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्षको छैठौं संस्करणको प्रतियोगिताको उपाधि मंग्लेश्वर युवा क्लबले जितेको थियो भने आयोजक उपविजेता बनेको थियो ।