रमेशप्रसाद लामिछाने

१. लामो कोट, प्रायः दुई पकेटवाला सर्ट, सर्टको छातीमा दुबैतिर थाहा लेखिएको, अग्लो शरीर, बलियो र कसिला हात पाखुरा, साथमा प्रायः हाते माईक, एउटा मैलो झोला, कोटको पकेटमा प्रायः भुटेको चना र भटमास नछुट्ने, सबैलाई ‘तँ’ भन्ने, ‘भाते’ भनिहाल्ने, गाली गरिहाल्ने, अत्यन्तै सक्रिय र जाँगरिलो देखिने, घरका भित्ता र बाटोका ढुंगा अनि व्यक्तिका कपडामा थाहाको छाप लगाईहाल्ने व्यक्ति भनेर रुपचन्द्र विष्टको परिचय बनेको थियो । उनका पर्चा किनेर पढ्नु पर्ने, विद्यार्थी र महिलालाई विशेष छुट दिईने पर्चा सानो कागजमा थोरै शब्द हुने गर्दथ्यो । रुपचन्द्रको भिन्न भेषभुषा र पहिचानबाट एकपटक देखे भेटेको मान्छेले कहिल्यै बिर्सन नसक्ने चिनारी नै बनेको थियो ।

पर्चामा लेखिएको शब्दका भाव सहजै नबुझिने, व्यापक अर्थ लाग्ने र सो को व्याख्या रुदाने आफैंले गर्दथे । गाउँमा किसान तथा महिलाले काम गरेको देख्ने बित्तिकै सँगसँगै घाँस काट्ने, मल बोक्ने, कोदाली समाई हाल्ने, भारी बोकी हाल्ने, जोत्न लागी हाल्ने, जे मिल्यो सो खाने, मान सम्मान पटक्कै नचाहिने, हिँडेरै घरघरै पुगेर छाप्रे जगाउने भन्दै गाउँ–गाउँ विकट र दुर्गममा समेत पुग्ने एक अनौठो अनुभूतिको प्रवाह गर्ने जसरुको पहिचान नै बनेको थियो ।

२. रुपचन्द्र विष्टसँग तुलना गर्न योग्य मान्छे मैले आजसम्म देखेको र पढेको छैन । उनी अराजक थिए । सम्पन्न परिवारमा जन्मे, हुर्केर पनि सुख सयल तथा विलासी जीवन त्यागेर बुद्धमार्ग रोजेका रुपचन्द्र एक दार्शनिक नै हुन् । माक्र्सका चेलाको साँच्चै उदाहरण खोज्ने हो भने रुपचन्द्र विष्ट पहिलो नम्बरमा पर्नुपर्दछ । माओका सही अनुयायी रुदाने नै हुन् भन्दा अतिशयोक्ति नहोला । उनले नगद वा श्रमबाट मूल्य नतिरी कसैसँग कुनै वस्तु सित्तैमा लिएको वा मागेको थाहा भएन । आफ्नो भाषणमा उनी माक्र्स, लेनिन, बुद्ध, माओ र गान्धीसँगै पुष्पलालका नाम छुटाउँदैनथे । उनी मकवानपुरका सबै विकट गाउँ र घर–घर पुगेका छन् । रुपचन्द्रका विद्रोही अभिव्यक्ति, कार्यशैली र व्यवहारले स्थानीय पञ्चे, मण्डलेहरु मात्र होइन तत्कालिन राष्ट्रिय पञ्चायतका केन्द्रीय मण्डलेहरु, सरकार र राजा पनि उनीसँग झस्केका धेरै उदाहरण छन् । समाज परिवर्तनका लागि एक्लै हिँडिरहने र कहिल्यै नथाक्ने छाप्रे जाग्नै पर्छ र उनीहरुले थाहा पाउनु पर्छ तब मात्र यो समाज बदलिन्छ भन्ने जागरण मकवानपुरका कुना–कुनामा फैलाउने व्यक्ति रुपचन्द्र विष्ट नै हुन् भन्दा बिमति नहोला ।

३. हालै टंक चौलागाईंको ‘रुदाने’ बजारमा आएपछि उत्सुकतापूर्वक किताब किनेँ । किताब किन्दाको भन्दा बढि उत्सुकता लिई पढ्न थालेँ । पढ्न थालेपछि छोड्न मन लागेन । लगातार पढेँ । पढेर सिध्याएँ । किताब पढेर सकेपछि केहि लेख्ने सोच बनाएँ । यो लेख्दा मैले लेखकसँग अनुमति लिएको पनि छैन र मेरो चिनजान पनि छैन । फेरि पनि, रुपचन्द्र विष्टका बारेमा पढेपछि केहि नलेखी बस्नै सकिन । रुदाने दामन पालुङमा उदाए । त्यहिँ हुर्के । काठमाडौंसँग जोडिए । दामन पालुङदेखि मकवानपुर जिल्लाभरका भुईंमान्छेलाई बिउँझाउने अभियानमा सक्रिय भए । यहि सन्दर्भमा ‘थाहा’ आन्दोलन नै बन्यो । छाप्रे जगाउने भन्दै ‘थाहा’ घरको भित्तामा, कागजका टुक्रामा, व्यक्तिले लगाएका गन्जीमा, सर्टमा, कमिजमा, टोपीमा हुँदै सार्वजनिक भवनका भित्तामा, बाटाका ढुंगामा, काठमा, साईनबोर्ड आदिमा व्यापक बनेको धेरैलाई थाहा छ । चालिसको दशकका हामी मकवानपुरेका माझमा अविस्मरणीय व्यक्ति बनेका रुपचन्द्र विष्टका बारेमा अनेकौं किम्वदन्ती नै बने । तत्कालिन अमरज्योति स्कूल हालको जनकल्याण माध्यमिक विद्यालयको निर्माण र विकासबाट शिक्षामार्फत शैक्षिक अभियानको अनि पालुङ विकास घरको स्थापनाबाट नागरिक जागरणसहित कृषि क्रान्तिको बिगुल फुकेका रुपचन्द्र विष्टका बारेमा महाकाव्य लेख्दा पनि कमै हुन्छ ।

४. रुपचन्द्र विष्टका बारेमा स्मरण गराउने र थप जानकारी दिने काम गरेकोमा टंक चौलागाई प्रति विशेष आभार, धन्यवाद दिनै पर्दछ । रुदानेका बारेमा धेरै किताब आईसक्नु पथ्र्यो जस्तो बिगतमै महसुस नभएको होईन । यसअघि रुपचन्द्र विष्ट स्मारक समिति नेपालले वि.सं.२०६२ माघमा ‘थाहा’ नामको किताब प्रकाशन गरेको थियो । यो नै रुपचन्द्र विष्टका बारेमा पहिलो किताब थियो । त्यसपछि हाल टंकजीको रुदाने अघि रुपचन्द्रका बारेमा कुनै किताब बाहिर आएको मैले चाहीँ भेटेको छैन । उक्त ‘थाहा’ किताबका सामग्रीहरुको संकलक रामनारायण बिडारी हुन् । रुपचन्द्रले लेखेका पर्चाहरु र राष्ट्रिय पञ्चायतमा उनले गरेका भाषणहरु समेटिएको उक्त किताब नै रुपचन्द्रलाई चिन्न, बुझ्न, जान्न र थाहा पाउन पर्याप्त नभए पनि उनका विचारहरुका सवालमा भने व्यापक जानकारी समेटिएको छ भन्नै पर्दछ । यद्यपी उक्त किताबमा व्यक्तिगत कुराहरु भने छैनन् । रुपचन्द्र विष्टका बारेमा लेख्ने नै हो भने रामनारायण बिडारीले नै बढि बुझेको हुनुपर्छ भन्ने मलाई लाग्दछ ।

५. सन्दर्भलाई टंक चौंलागाईंको “रुदाने’ सँग जोड्नु यो आलेखको ध्येय रहेको छ । टंकजीले प्रस्तुत गर्नुभएका शिर्षकहरु नै प्रस्तुत किताबका बारेमा बोलिरहेका भेटिन्छन् । किताबको मूल्य रु ७९५÷– अंकित रहेको कुल ४१० पेजमा समेटिएको उक्त ‘रुदाने’मा लेखकका रोजाईका रोचक तथा आकर्षक ११९ वटा शिर्षकहरु (सिङ, दलन, गाँठो, आँसु, प्रश्नैप्रश्न, सुरक्षा कवच, रुपचन्द्र, सानोघर ठूलोघर, खराब शासन, ढिंडो, पसिनाको मूल्य, छाप्रेमा परिवर्तन, मण्डले प्रवृत्ति, डुलुवा जीवन, आक्रमण, मिसावट, विचारको माला, एक्सिलेण्ट, घर कि राजनीति, कु, सुराकी, लाज, स्याबास, ज्ञानको भोक, प्रधानपञ्च, ढुङ्गाको भारी, विकासैविकास, झडप, कर, भोज, तारिख, गौरी, विवाह सभा, यात्रा, बोझ, नाली, पाविस, छलछाल, सपना, सामना, मात, घरमै शिक्षक, खर्चको जोहो, आफ्टर स्कूल, रुपचन बहुला, देखेको रुस, राजिनामा, अँध्यारो उज्यालो, रुपचनको भुत, खोजी, दबाब, भिक्षु, रुदाने, कृषि कर्म, प्रकृतिप्रेम, धनी देश, पर्यटकको माया, विजयको प्रतिक, आफ्नो बाटो, पाहुना नहुँदा, दोषी को ?, खोजको बाटो, पहेँलो र निलो, बहिष्कार, जनअधिकार, फरक विचार, लोप्चन, छाप्रेको जित, दमन, मोडाई, बीउ, पानी बत्ति र बाटो, शब्द फिर्ता, महापञ्चहरुको नाच, फूल मकै, राडी, निगरानी, जनमुखी गीत, बोराको ढोका, रोजगारी, ढिंडो, हात काट्ने, घाम आफूलाई, सुरक्षा, बोपाटु, पपुलारिटी, थाहा, सुबिधाको गाडी, सरकार, घरदैलो अभियान, चेपाङ सभापती, जनमुखी विजय, चितुवा कविता, शक्ति, ठूलैठूला, सिन्को, सुविधा, जिज्ञासा, घर, पापै, विरोधी, बहुला निर्दयी, चुप, अग्नि परीक्षा, अन्तरवार्ता नदिने, यज्ञ कि साङ्गे, मृत्यु, गाँजा, असफलता, मलामी, अन्तरवार्ता, रोजाईः मृत्यु, मृत्यु–घोषणा, तङ्ग्रिने कोशिश, आफ्नै मृत्युको खबर, भोट अठासी, इच्छा मृत्यु, अन्तिम प्रत्यक्षदर्शी, इतिहास जीवनी र आख्यानको त्रिवेणी राखिएकका छन् । प्रत्येक शिर्षकको रोचक प्रस्तुती लेखकीय क्षमता प्रसंशनीय छ ।

६. प्रस्तुत किताबमा मूल पात्र रुपन्द्र विष्टका अतिरिक्त भाइ–बहिनी गुणन्द्र विष्ट र गीता, श्रीमती उमा शाह, छोरी सामना, रामनारायण विडारी (बोपाटु), रणसंग्राम विष्ट, अजेयराज सुमार्गी (हल्लुँड), ज्योति रायमाझी (काग), कृष्ण घिमिरे, अनन्त पौडेल, कृष्ण राना, शशी शेरचन (स्वनाम साथी), एकराज उप्रेती, रामहरि सुवेदी, तेजराज उप्रेती, केपी ओली, लवशेर विष्ट, देवप्रकाश त्रिपाठी, दिल बहादुर श्रेष्ठ, चिया पसले सहदेव, पुष्पलाल, निर्मल लामा, नर बहादुर कर्माचार्य, पुष्पकमल दहाल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, कमल थापा, विरोध खतिवडा, राम, बासु, रामजी, हिरा, विमल, शुक्र, विश्वकान्ति कलावती, अमृत राजथला, बलराम बल, भक्तबहादुर श्रेष्ठ, मनमोहन अधिकारी, श्याम श्रेष्ठ, शशी श्रेष्ठ, जनक विष्ट, कृष्ण प्रसाद भट्टराई, मरिचमान, ठेकेदार पुरनमान, व्यापारी महात्मा, जुद्ध शमसेर, विश्वकान्ति मैनाली, लोकेन्द्र बहादुर चन्द, लिलामणि पोखरेल, पद्यरत्न तुलाधर, गणेशमान सिंह, नरबहादुर बिष्ट, तुल्सी थापा, झलक चन्द्र विष्ट, मन कुमारी रायमाझी, लप्टन बिष्ट, दामोदर शमशेर, भुवन प्रकाश विष्ट, हरिकृष्ण विष्ट, शिव कार्की, रामकृष्ण कार्की, राम बहादुर रायमाझी, कर्णध्वज, बद्रि बहादुर, बुद्धिलाल राजथला, रामलाल गोपाली, गोवद्र्धन थापा, रविन्द्र खनाल, गणेश बर्तौला, अशोक बानियाँ, गोपाल ढकाल, शिव राणा, लक्षु विष्ट, कलानाथ अधिकारी, ओमुटेम्पा लामा, तिलक बहादुर नेगी, डोरमणि पौडेल, रविन्द्रनाथ, रुद्र गिरी, वीरेन्द्रकेशरी पोखरेल लगायतका व्यक्तिहरुको नाम अटाएको भेटिन्छ ।

६. अन्तमा, टंक चौलागाईंद्वारा प्रस्तुत ‘रुदाने’ ले रुपचन्द्र विष्टका बारेमा धेरै कुरा उजागर गरेको छ । प्रस्तुत किताबमा उल्लेखित रुपचन्द्रको जीवनशैली, जनतासँगको व्यवहार, सरकार र व्यवस्थाप्रतिको दृष्टिकोण, जीवनका उतारचढावका अवयवहरु, पर्चा र भाषणमा व्यक्त भनाईहरु सबै सर्सर्ती थाहा पाउनका लागि कम्तिमा एक पटक उक्त किताब रुदाने अध्ययन गर्नै पर्दछ । एक दार्शनिक व्यक्तिका बारेमा उनले भनेका लेखेका भनाईहरु ब्याख्या गर्ने हो भने धेरै विज्ञहरुले वर्षौंसम्म मिहिनेतका साथ खट्नुपर्ने हुन्छ । यो किताबको प्रस्तुती पश्चात रुपचन्द्र विष्टका आफन्त तथा निकटका व्यक्तिहरुलाई थप किताब बाहिर ल्याउन प्रेरित गरेको छ । रुपचन्द्रको अवसान दुखद् मात्र हैन, अत्यन्तै पीडापूर्ण रहेको स्थिति उनको निधन भन्दा करिब १५ दिन पहिले वि.सं. २०५६ जेठको अन्तिम सातातिर कृष्ण घिमिरेसँगै भाइ बद्रि प्रसाद लामिछानेले नैकापको जीर्ण कटेरोमा भेट्दा देखेको दृष्य ह्दयविदारक सुनाए । उनको श्रीमती उमा शाह, छोरा, छोरी सामनाका कोणबाट पनि दार्शनिक रुपचन्द्रका बारेमा तितामिठा अनुभूतिका संगालो बाहिर प्रकाशन हुँदा जसरुका थप आयाम बुझ्ने अवसरको अपेक्षा गर्न सकिन्छ ।