क्रियसन द्वारा सरसफाइ कार्यक्रमको तस्वीर

हेटौंडाः हेटौंडा–४ र १० नम्बर वडाको कर्रा क्षेत्रमा सरसफाइ गरिएको छ । क्रियसन नेपालको आयोजनामा एनवाईसीए हेटौंडा, इफ्सा हेटौंडा, युथ रेडक्रस एफएयु, रोट्रयाक्ट क्लब अफ हेटौंडा र क्याण्डिड स्टुडियोको सहकार्यमा आइतबार बिहान कर्रा खोला पुल क्षेत्रमा सरसफाइ गरिएको हो ।

भीएफसी युथ हेटौंडाका भोलेन्टिएर अभिषेक चन्द र प्रतीक्षा पौडेलको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । कर्रा पुलबाट वनविज्ञान क्याम्पसको गेटसम्म सरसफाइ गरेको आयोजक कमिटीका निश्चल भट्टले जानकारी दिनुभएको छ ।

सरफाइबाट ४६ किलोग्राम प्लाष्टिक, ५ किलोग्राम बोटल, ७ किलोग्राम एमएलपी, कुहिने फोहोर २० किलोग्राम र लो ग्रेज फोहोर २ किलो ५ सय ग्राम गरी करिब २ सय किलोग्राम फोहोर संकलन गरिएको भट्टले बताउनुभयो । करिब ४४ जनाको सहभागितामा कर्रा खोलाको पुलदेखि वनविज्ञान संकायको गेट वरपर सरसफाइबाट संकलित फोहरलाई पुनः प्रयोगमा आउने र नआउने छुट्याएर डम्पिङ साइटमा व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।

प्लाष्टिकजन्य फोहोरमुक्त नदी भन्ने नारालाई सार्थक बनाएर सरसफाइ कार्यक्रम गरेको भट्टले बताउनुभयो । नदी वरपरको पर्यावरण सफा राख्ने सबै पक्षको सहभागितामा सरसफाइ गरेको उहाँको भनाइ छ ।

विश्व बैंकको सहकार्यमा नदीहरुमा प्लाष्टिकजन्य फोहोरलाई न्यूनीकरण गर्न ७ वटा पालिकाको नदीमा सरसफाइ गर्नका लागि कार्यक्रम गरेको जनाइएको छ । आगामी दिनहरुमा वातावरण संरक्षणका लागि रचनात्मक कार्याक्रमहरु गर्दै जाने आयोजक कमिटीको भनाइ छ ।

यसअघि क्रियसनले राप्ती खोला परिसरमा सरसफाइ गरेको थियो । संस्थाले वातावरण संरक्षण अन्तर्गत नदीहरुलाई विशेष प्राथमिकता दिएर सरसफाइ गर्ने गरेको छ ।