हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तह प्रथम र द्वितीय वर्षमा अध्ययनरत सबै संकायका ३० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । शुक्रबार क्याम्पसले आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्रमुख संगम चौलागाईले जानकारी दिनुभयो ।
विद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति दिइएको उहाँले बताउनुभयो । आन्तरिक त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः ३ महिना, २ महिना र १ महिनाको शूल्कमा छुट गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख समेत रहनुभएका मकवानपुर बहुमुखी क्याम्पसको छात्रवृत्ति समितिका संयोजक ललित बहादुर घलानको सभाध्यक्षतामा छात्रवृत्ति वितरण कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालको पनि उपस्थिति रहेको थियो ।