हेटौँडाः हेटौँडा–८ कमानेमा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडा कमिटी र वडा–९ ‘ए’ प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा हेटौँडा–८ ‘ए’ लाई १०२ रनले हराउँदै आयोजकले खेलकुद महासंघ वडा–८ कमिटी र वडा–२ लाई २३ रनले हराउँदै वडा–९ ले फाइनलको यात्रा पूरा गरेको हो ।
टस जितेर पहिलो व्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । आयोजक टिमका लागि विजय घलानले सर्वाधिक ८४ रन जोड्न सफल भए । वृजेश कार्कीले ६९ रन बनाउन सफल हुँदा रमेश उपाध्यायले २६ रनको योग्दान दिएका थिए । बलिङतर्फ स्पन्धन क्षेत्री, भुवन थापा, गौरव खड्का, गोकुल चौलागाईं र रोनिश श्रेष्ठले समान २–२ विकेट लिएका थिए । म्यान अफ द म्याच आयोजक टिमका विजय घलान घोषित भए । घलानलाई म्यान अफ द म्याचको ट्रफी प्रतिनिधि सभा सदस्य तथा संघीय सरकारका प्रमुख सचेतक महेश बर्तौलाले प्रदान गर्नुभयो ।
जवाफी व्याटिङ गरेको वडा–८ ‘ए’ ले १७ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सफल भयो । सुरज भट्टराईले सर्वाधिक ४० रन बनाएका थिए । विकास डङ्गोलले २७ रनको योग्दान दिएका थिए भने विजय राजले २० रन बनाएका थिए । यस्तै सृजन अधिकारीले १० रन जोडेका थिए । बलिङतर्फ प्रेम क्षेत्री र समीर थापा मगरले समान ३/३ विकेट लिएका थिए । अरुण ढकालले २ विकेट लिएका थिए ।
टस जितेर पहिले व्याटिङ गरेको वडा–९ ‘ए’ २० ओभरमा २ सय २० रन बनाएको थियो । विवेक दहालले ४४ रन बनाएका थिए । वर्षाका कारण प्रभावित भएपछि दोस्रो सेमीफाइनल खेल डक वर्थ लेविसका आधारमा दोस्रो इनिङ्स ८ ओभर ५ बलमा छोट्याइएको थियो । म्यान अफ द म्याच सुमन श्रेष्ठ घोषित भए । नेकपा एमाले ८ नम्बर वडा कमिटीको सहयोग तथा नेपाल खेलकुद महासंंघ वडा कमिटीको आयोजनामा प्रतियोगिता भएको हो । धर्मराज पुडासैनीको संयोजकत्वमा भएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।