गौरा पर्व मनाइरहँदा टुँडीखेलमा युवाहरूले केपी ओली र शेरबहादुरविरुद्ध नारा लगाए । एउटा सांस्कृतिक पर्व मनाउने कार्यक्रममै युवाहरुको रोष देखिनुले वर्तमान सरकार र यो व्यवस्थाप्रतिको वितृष्णा चुलिँदैछ भन्ने देखाउँछ । टुँडीखेलमा देखिएको युवाहरुको बिरोध आम युवाहरुको आक्रोस र निराशाको अभिव्यक्ति हो । सरकारले यसलाई स्वभाविक रुपममा लिन सकेन, ती युवाहरुलाई थुन्ने काम गर्यो । बिरोध गर्न पाउने जनताको अधिकारलाई कुण्ठित गर्यो र लोकतन्त्रको हुर्मत लियो । कुनैबेला निंरकुशतन्त्रको बिरोध गरेर जेलनेल बिताएका नेताहरू नै अहिले शासनसत्तामा छन् । लोकतन्त्र, वाक स्वतन्त्रताको लागि लामो लडाईं लडेका क्रान्तिकारी नेताहरु आज आफू राज्यसत्तामा पुगेपछि आफ्नो बिरोध देख्न र सुन्नै नसक्ने निरंकुश सामन्तमा परिणत भएका छन् । त्यसैले लोकतन्त्र फगत नारामा सिमित हुन पुग्यो ।
बिरोध, असहमतिलाई पचाउन नसक्नेहरु किमार्थ लोकतन्त्रवादी हुँदैन । यहि खुला समाज जनताको हित र अधिकारको लागि नै सयौं जनताले प्राण उत्सर्ग गरेका हुन् । तर हामीकहाँ बिरोधीलाई निमिट्यान्न पार्ने प्रवृत्ति नै देखिन्छ । पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रको सर्वथा अभाव छ । नेतृत्वको बिरोध गर्नेहरू कि किनारा लाग्छन्, कि पार्टी छोडेर जान बाध्य बनाइन्छ । त्यसैले त एउटै पार्टीका नेता दशकौंसम्म अध्यक्ष भइराखेका छन्, जुन संसारमा बिरलै देख्न पाइन्छ । २०४९ सालमा मन्त्री भएका शेरबहादुर पाँच पटक प्रधानमन्त्री भइसके । उनी मन्त्री भएकै ३३ वर्ष भइसक्यो, फेरि प्रधानमन्त्री हुने लाइनमा छन् । उनी २०५२ सालमा प्रधानमन्त्री हुँदा क्लिन्टन अमेरिकाको राष्ट्रपति थिए । त्यसपछि अमेरिकामा कतिवटा राष्ट्रपतिहरु आए । हामीकहाँ त्यही थोत्रो अनुहारबाहेक नयाँ कोहि आउन सकेको छैन । अनि यसैलाई लोकतन्त्र भन्दै हिँडेका छौं । यो हो हाम्रो विडम्बना ।
हाम्रो मुलुक जर्ज अर्जवेलको एनिमल फार्मको कथाजस्तो भयो । आफ्नो मालिकले जनावरमाथि शोषण गर्यो, समानता भएन, दुःख हामीले गर्ने उत्पादन गरेको वस्तु हामीले उपभोग गर्न नपाउने, तसर्थ यो मालिकको विरुद्ध लडौं भनेर सुंगुरलाई नेता बनाएर आन्दोलन गरेका फार्मका सम्पूर्ण जनावरहरुले मालिकलाई अन्ततः भगाई छाडेछन् । सुंगुरलाई नेता बनाएछन् । क्रान्तिको सफलतापछि जनावरको फार्ममा समाजवाद आएछ । क्रान्तिकारी विजयी भएछन् । तर, बिस्तारै समय ढल्किँदै गयो । सुंगुर त्यहि मालिकजस्तै भएछ । शनैःशनै सुंगुर नयाँ मालिकमा परिणत भया, नवसमान्त भएर निस्किएछ । एनिमल फार्ममा जस्तै ठिक नेपालमा पनि पटक–पटक क्रान्ति भएका छन् । तर, प्रत्येक क्रान्तिपछि सत्तामा पुगेका नेताहरूले आफ्नै स्वार्थका लागि क्रान्तिका आदर्शहरूलाई बिर्सिएका उदाहरण प्रशस्त छन् । एनिमल फार्ममा सत्ता न्यूपोलियनको हातमा केन्द्रिकृत भएजस्तै, नेपाली राजनीतिमा पनि केही नेताहरूले सत्तामा रहँदा आफ्नो पार्टी र आफ्नो समूहलाई मात्र प्राथमिकता दिएका छन् । एनिमल फार्ममा जनावरहरूलाई शोषण गरिएजस्तै, नेपाली राजनीतिमा पनि जनतालाई शोषण गरिएको छ ।
नेपाली राजनीतिमा पनि सत्तामा पुगेपछि आफ्नो स्वार्थका लागि क्रान्तिका आदर्शहरूलाई विर्सने र सत्तामा अडिग रहनका लागि जे पनि गर्न तयार रहने नेताहरूलाई न्यूपोलियनसँग तुलना गर्न सकिन्छ । संविधानले प्रदर्शन गर्ने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको सन्दर्भमा टुँडीखेलमा शान्तिपूर्णरूपमा आफ्ना माग राख्न गएका नागरिकलाई पक्राउ गर्नु राज्यको दमनकारी चरित्रको प्रमाण हो । यस घटनाले सरकारले नागरिक स्वतन्त्रतालाई कति महत्व दिन्छ भन्ने कुरा स्पष्ट पारेको छ । शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको आधारस्तम्भ हो । यसले सरकारलाई जनताको भावना बुझ्न र आफ्ना नीतिहरूमा सुधार गर्न मद्दत गर्दछ । तर, प्रदर्शनकारीलाई थुनामा पार्ने कार्यले यस आधारस्तम्भलाई नै कमजोर बनाउँछ । यसले नागरिकहरूमा निराशा पैदा गर्छ र सरकारप्रतिको विश्वास गुमाउँछ ।
यस घटनाले सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई पालना गर्नुपर्ने आवश्यकतालाई झनै उजागर गरेको छ । टुँडीखेल प्रदर्शनकारीहरूको थुनाले नेपाली समाजमा चासो र चिन्ता पैदा गरेको छ । यस घटनाले हामीलाई लोकतन्त्रलाई जोगाउन र सुदृढ बनाउनका लागि सचेत रहन प्रेरित गर्दछ । लोकतन्त्रले सबै नागरिकलाई समान अधिकार र अवसर प्रदान गर्ने वाचा गर्छ । तर, नेपालमा कतिपय नेताहरूले यो व्यवस्थालाई आफ्नो निजी स्वार्थ पूरा गर्ने माध्यम बनाएका छन् । उनीहरूले लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गर्दै सत्ताको दुरुपयोग गर्ने, भ्रष्टाचारमा संलग्न हुने र जनताको हितभन्दा आफ्नो दल वा परिवारको हितलाई प्राथमिकता दिने गरेका छन् । यसले गर्दा राजनीतिक नेतृत्वप्रतिको जनविश्वास घट्दो छ । यस प्रकारको व्यवहारले गर्दा नेपाली जनताले लोकतन्त्रको सच्चा स्वाद लिन पाएका छैनन् र उनीहरूको जीवनस्तरमा खासै सुधार आएको छैन ।
यसको अर्थ, नेताहरूले लोकतन्त्रको आवरण ओढेर जनतालाई भ्रममा पार्ने काम गरिरहेका छन् । उनीहरूले जनतालाई भोट हाल्नका लागि राम्रा–राम्रा वाचा गर्छन्, तर सत्तामा पुगेपछि ती वाचा बिर्सन्छन् । उनीहरूले आफ्ना निकटस्थलाई मात्र फाइदा पुग्ने गरी नीति नियम बनाउँछन् र जनताको हितलाई बेवास्ता गर्छन् । यस प्रकारको व्यवहारले गर्दा नेपालको विकासमा ठूलो बाधा पुगेको छ । यहि निराशा जनताबाट पटक–पटक प्रकट भइरेहेको छ । बलियो सरकार बन्यो भन्दा पनि जनतामा उत्साह छैन । गगन थापा भन्दैथिए, मेरो लामो राजनीतिक जीवनमा एकै पटक यति ठूलो जनमानस निराश भएको कहिले देखेको छैन । यो डरलाग्दो अवस्था हो । यति हुँदा पनि सच्चिनु नपर्ने सत्ता अहंकार÷दम्भले सर्वसत्तावादको घोडा चढेर बसेको छ ।
विनाशकाले विपरित बुद्धि भन्या झैं संसारभर नै निरंकुशताको साम्राज्य काहीँ टिकेको छैन, केहि अपवाद बाहेक । लोकतन्त्र नै यस्तो व्यवस्था हो, जसले असहमति हुन पाउने अधिकारको लागि लड्छ । लोकतन्त्र बेठिक छ भन्ने अधिकार पनि लोकतन्त्रमा निहित छ । तर जब लोकतन्त्रको नाममा लेखेको आधारमा, सामाजिक सञ्जालमा पोष्ट गरेको आधारमा, टिकटकमा भिडियो बनाएकै आधारमा निषेध र धरपकड गर्ने काम राज्यले गर्छ भने त्यो कदम संविधानको मर्मविपरित हुन जान्छ । उदाहरणका लागि टिकटक लामो समय बन्द गरियो । तर भिपीएनबाट टिकटक चलेकै थियो । संसार यति विकसित भइसक्यो कि, तपाईंले उसको अधिकार रोक्न सक्नु हुन्न । त्यसैले त टिकटक खोल्न सरकार बाध्य भयो ।
जनताको अधिकार कुण्ठित गरेर शासन चलाउने कुरा मृगतृष्णामात्र हो । सरकारको यहि रवैयाले जनमानसमा आक्रोश, वितृष्णा झन्झन् बढ्दो छ । भुषण दाहालसँगको अन्तरवार्तामा विश्लेषक शौरभ भन्दैथिए– यदि अहिलेका नेताहरुलाई प्रहरी र सेनाले सुरक्षा नदिने हो भने यिनको पब्लिक लिन्चिङ (भिड हत्या) हुने खतरा छ । यो आक्रोशको उच्चतम अभिव्यक्ति हो । वर्तमान व्यवस्था र फेरिन नसकेको अवस्थाले गर्दा जनताको आक्रोश र रिस चुलिएको छ नेताहरुप्रति । समय छ सच्चिउ, नत्र समयले नै सच्याउँछ । अन्ततः इतिहासबाट पाठ सिकौं । इतिहासका निर्माता जनता हुन् । जनताको सर्वोच्चतालाई आत्मसात गर्दे अघि बढ्न नसके दुर्भाग्य नै हुन्छ । चेतना भया ।