हेटौँडाः नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले अग्रगामी काम हुने गरी मात्र संविधान संशोधन हुुने बताउनुभएको छ । आइतबार पार्टीले हेटौँडामा आयोजना गरेको अभिमुखीकरणमा बोल्नुहुँदै महामन्त्री शर्माले विभिन्न पाटोबाट संविधान संशोधन गर्न सकिने बताउनुभयो ।
अहिले देशमा संविधान संशोधनको विषय आइरहेको र यसमा विभिन्न पाटो रहेको उहाँले बताउनुभयो । के कुरा नयाँ लेख्यो भने संविधान अझै आकर्षक, लोकप्रिय र मुलुकमा स्थिर सरकार दिन सक्छ त्यसलाई ध्यानमा राखेर मात्र संविधान संशोधन गनुपर्ने उहाँले बताउनुभयो । संविधान संशोधन गरेर समावेशी सहभागिता हटाइन्छ भन्ने माओवादी केन्द्रको आरोपबारे भ्रममा नपर्न महामन्त्री शर्माले आग्रह गर्नुभयो । समावेशी सहभागिताको जग काँग्रेसले नै बसालेको महामन्त्री शर्माको भनाई छ ।
उहाँले देशमा दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने, तीन पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा उल्लेख गरी हालको व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । सरकारले पूरा कार्यकाल काम गर्न सक्ने व्यवस्था बनाउनुपर्ने उहाँको भनाई छ । संविधानमा कुनै पनि दल निर्वाचनमा गइसकेपछि दोस्रो, तेस्रो र बाँकी दलहरु सरकारमा नजाने र लोकप्रिय मतसहित बहुमत ल्याउने पहिलो दलले नै सरकारको नेतृत्व गर्न पाउने व्यवस्था स्पष्ट लेख्नुपर्ने उहाँको धारणा छ ।
महामन्त्री शर्माले चौथो दल नैतिक रुपमा सरकारमा जान नहुने बताउनुभएको छ । आफ्नो पार्टी सरकारमा हुँदा आफ्नो पालो भएपनि गगन थापा र आफु सरकारमा नगएको प्रसंग उठाउनुुहुँदै उहाँले रास्वपा सभापति रवि लामिछाने लक्षित अभिव्यक्ति दिनुभएको हो । उहाँले पहिलो पटक जितेर आएको नयाँ दलले संसद छिर्ने बितिक्कै गृहमन्त्री नै चाहिन्छ भन्दै बार्गेनिङ गरेको आरोप पनि लगाउनुभयो । उहाँले आफुहरु (गगन, विश्व) पनि एउटै उमेर समूहको भएको उल्लेख गर्दै मितिका आधारमा खोलिएका नयाँ दलले भन्दा प्रवृत्ति र संस्कारमा नयाँपन भएमा रुपान्तरण हुने धारणा व्यक्त गर्नुभयो ।
सभापतिलाई सहकारी ठगीको आरोप लाग्दा रास्वपाका पदाधिकारीहरुले आफ्नो सभापतिको छानबिन गर्न अवरोध गरेको र आफुले काँग्रेस उपसभापति धनराज गुरुङलाई आरोप लाग्दा गहिरो रुपमा छानबिन गर्नुपर्ने आवाज उठाएको पनि बताउनुभयो । उहाँले देशमा रुपान्तरणको आवश्यक रहेको भन्दै यसको जिम्मा काँग्रेसले लिनुपर्ने बताउनुभयो । सामाजिक विसंगति अन्त्य गर्न जनप्रतिनिधिले महत्वपूर्ण भूमिका हुने भन्नुहुँदै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नागरिकको मन जित्ने गरी काम गर्न आग्रह गर्नुभयो ।