हेटौँडाः आज सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । यूनेस्कोले सन् १९६५ मा हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्व स्फूर्त रूपमा मनाउने गर्दछन् ।
यस वर्ष “पारस्परिक समझ र शान्तिका लागि साक्षरताको भूमिका बहुभाषिक शिक्षाको प्रवद्र्धन” भन्ने नाराका साथ यो दिवस मनाईँदै छ । सबै जना साक्षर हुनु सबै जनाको दायित्व हो तर, साक्षरताको ग्लोबल मनिटर रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाइ महिलाहरू अझै पनि निरक्षर छन् र धेरैको अत्यन्त न्यून स्तरको साक्षरता सीपहरू छन् । धेरै बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् र पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन् ।
नेपालमा पनि हालसम्म ७ प्रदेश मध्ये वागमती, गण्डकी र कोशी प्रदेश तथा ७७ मध्ये ६४ जिल्ला मात्र साक्षर घोषणा भएका छन् । कर्णाली प्रदेशका विकट जिल्लाहरु मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा तथा मधेश प्रदेशका सबै ८ वटा गरी १३ जिल्लाहरु अझै साक्षर घोषणा हुन बाँकी छ । त्यस्तै ७५३ स्थानीय तह मध्ये मधेश प्रदेशका १३० र कर्णालीका २३ गरी कुल १५३ स्थानीय तहहरु साक्षर घोषणा हुन बाँकी छन् ।
नेपालमा २०६५ र २०६९ सालमा साक्षरता अभियान संचालन भएको इतिहास छ । २०७१ असारदेखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी भएर २०७२ सालमा सबै जिल्लाहरुमा सघन साक्षरता कार्यक्रम संचालन गरिएको थियो । २०७६ सालमा साक्षर नेपाल वर्ष संचालन गरेर तीन प्रदेश, ६४ जिल्ला र ६ सय स्थानीय तहलाई साक्षर घोषणा गरिएको थियो ।