हेटौँडाः हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा पदमपोखरी युथ क्लब र गोर्खा ब्वाइज क्लब विजयी भएको छ । शनिबार हेटौँडा–६ स्थित गौरीटार रंगशालमा भएको खेलमा सानोपोखरालाई ३–२ गोलअन्तरले हराउँदै पदमपोखरी विजयी भएको हो भने रियल स्टार क्लबलाई १–० गोलअन्तरले हराउँदै गोर्खा ब्वाइज क्लब विजयी भएको हो ।
पदमपोखरीको तर्फबाट सुजन स्याङ्तानले १४ औं मिनेटमा, युवराज लामाले ३२ औं मिनेटमा र अभिषेक बोगटीले ९८औं मिनेटमा गोल गरे । सानोपोखराबाट सञ्जय लामाले खेलको ३८ औं मिनेटमा र सुमन राईले ९९ औं मिनेटमा गोल गरेका थिए । गोर्खा ब्वाइजको जीतमा मनोज घलानले निर्णायक गोल गरे ।
यस्तै सिमलटार मैदानमा भएको न्यू कम्वाइन र एफसी नामटारबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको छ भने गौरीटारमा भएको हेटौंडा–७ र एफसी मल्टिभिजन क्लबबीचको खेल १–१ गोलमा स्थगित भएको छ । खेल सकिन ८ मिनेट बाँकी रहँदा रात परेको कारण खेल स्थगित भएको हो । ७ नम्बर उपहार स्वरुप आत्मघाती गोल प्राप्त गरेको हो । मल्टिभिजनबाट जेनिथ थपलियाले १ गोल गरेका हुन् । म्यान अफ द म्याच गोर्खाबाट मनोज घलान घोषित भएका छन् ।
लिग अन्तर्गत आज आइतबार गौरीटारमा पहिलो खेलमा प्रतिभा युवा क्लब र हाँडीखोलाबीच हुनेछ भने दोस्रो खेल युनाइटेड नाइन क्लब र सहिद स्मृति क्लबबीच हुनेछ । सिमलटारमा पहिलो खेल एफसी पोताला र सक्षम युवा क्लब बीच हुनेछ भने दोस्रो खेल पशुपति युवा क्लब र प्रगतिशील युवा क्लबबीच हुनेछ ।
जिल्ला लिग प्रतियोगितामा २८ क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ ।