शिविरमा स्वास्थ्यजाँच गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–६ गौरीटार स्थित मुलमिलावा धाममा भएको निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाको स्वास्थ्य जाँच गरिएको छ । शनिबार श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल ‘मुलमिलावा धाम’ हेटौंडा उपमहानगरपालिका–६, गौरीटारले स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

सिद्धस्थली अस्पतालको सहकार्यमा भएको शिविरमा ७५ जनाले स्वास्थ्य जाँच गरेका परिषद्का अध्यक्ष प्रदिप बास्तोलाले जानकारी दिनुभयो । परिषद्ले साताव्यापी कार्यक्रमको छैठौं दिन स्वास्थ्य शिविरको आयोजना गरेको हो । कृष्ण जन्माष्टमीको अवसरमा सञ्चालन भएको स्वास्थ्य शिविरमा सेवाग्राहीहरुको सामान्य जाँच गरिएको बास्तोलाले बताउनुभयो । शिविरमा उच्च रक्तचाप, मधुमेह, पिसाब जाँच, मुटु सम्बन्धी, रक्तजाँच लगायतको जाँच गरिएको थियो । परिषद्ले शिविरमा निःशुल्क औषधी पनि वितरण गरेको थियो ।

शिविरमा सिद्धस्थली अस्पतालका डा. विष्णु प्रसाद श्रेष्ठको टोलीले सेवाग्राहीको स्वास्थ्य जाँच गर्नु भएको थियो । उक्त कार्यक्रममा युवा परिषद्का कोषाध्यक्ष मोहन खतिवडाले मुलमिलावालाई प्राथमिक उपचार किट (फस्ट एड किट) प्रदान गर्नु भएको थियो । परिषद्का केन्द्रिय उपाध्यक्ष प्रमोद वाग्लेको प्रमुख आतिथ्यमा भएको स्वास्थ्य शिविरमा परिषद्का अध्यक्ष प्रदिप बास्तोलाको सभाध्यक्षता रहेको थियो ।

परिषद्ले भदौ ४ गते मंगलबारदेखि १० गते सोमबारसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । परिषद्ले आइतबार मन्दिर सरसफाई कार्यक्रमको आयोजना गरेको छ भने अन्तिम दिन सोमबार जन्माष्टमी भव्यरुपले मनाउने भएको छ । बास्तोलाका अनुसार परिषद्ले सप्ताहव्यापी कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।