हेटौंडाः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई बालबालिकाको स्थितिपत्र हस्तान्तरण गरिएको छ । शुक्रबार बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था बाल हेल्पलाइन (सिविन)ले आयोजना गरेको कार्यक्रममा मन्त्री लामिछानेलाई स्थितिपत्र हस्तान्तरण गरिएको हो ।
स्थितिपत्रमा बागमती प्रदेश र गण्डकी प्रदेशका बालबालिकाले नेपालमा बालबालिकाको अनलाइन सुरक्षा र अधिकार संरक्षणका विषयहरु समावेश गरेका छन् । स्थितिपत्रमार्फत् बालबालिकाले सरकार र इन्टरनेट सेवाप्रदायकहरूलाई सुझावसमेत दिएका छन् । बालबालिकाका लागि विद्युतीय स्पेसहरु सुरक्षित बनाउन बालबालिकाले सरकारलाई सुझाव दिएका छन् । हानिकारक सामग्री रोक्न र बालबालिकाका लागि उमेर उपयुक्त सामग्रीहरु इन्टरनेटमा सुनिश्चित गर्न, विद्यालय र कानुन कार्यान्वयन गर्ने निकायहरुको समन्वयमा सचेतना अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्न बालबालिकाले सुझाव दिएका छन् ।
बालबालिकाले रेडियो, टेलिभिजन र अरु सामाजिक सञ्जालमार्फत् जनसमुदाय र बालबालिकालाई अनलाइन सुरक्षाको बारेमा सचेतना प्रदान गर्न, अनलाइन यौन दुव्र्यवहारका दोषीलाई कारबाहीको दायरामा ल्याउन र अन्य देशसँग कुटनीतिक सहयोग र सम्बन्धको विकास गर्न सुझाव दिएका छन् । यसैगरी, बाल यौन दुव्र्यवहारयुक्त सामग्रीहरु इन्टरनेट र समाजिक सञ्जालबाट हटाउन आचारसंहिता वा निर्देशिका बनाउन र देशभरका सबै बालबालिकाका लागि इन्टरनेट सर्वसुलभ र पहुँचयोग्य बनाउन बालबालिकाले सुझाव दिएका छन् । स्थितिपत्रमा बालबालिकाले देशमा अनलाइन सुरक्षाको वर्तमान स्थिति र बालबालिकाले भविष्यमा हेर्न चाहने विषय समेटिएको छ ।
बालबालिकाहरु इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित रहने र इन्टरनेट प्रयोग गर्दाको अधिकार बारे जानकार बनिरहन चाहन्छन् । विद्यालय पाठ्यक्रमको शिक्षण सिकाइमा मात्र व्यस्त नभई अनलाइन सुरक्षासम्बन्धी शिक्षण कार्यक्रममा उपस्थित हुन चाहन्छन् । समुदायका अगुवाहरुले बालबालिकाको इन्टरनेट पहुँचको अधिकार र अनलाइन सुरक्षाको बारेमा सचेतनामूलक गतिविधिहरु सञ्चालन गर्न माग गरेका छन् । नेतृत्वकर्ताहरुले बालबालिकाका अभिभावकहरुसँग इन्टरनेटका विषयहरुमा कुरा गर्न माग गरेका छन् । प्रहरी कार्यालयहरुमा बालबालिकालाई नम्र स्वागतयुक्त वातावरण हुनुपर्ने माग समावेश गर्दै स्थितिपत्रमा बालबालिकाहरु घटनाको उजुरी गर्न आउँदा जवाफदेही बनिदिन माग गरेका छन् ।
सो अवसरमा अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका २० वटा सामुदायिक विद्यालयका २० जना विद्यार्थीहरुले प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाललाई विभिन्न प्रकारका प्रश्न सोधेका थिए । विद्यार्थीहरुले मकवानपुर जिल्लामा अनलाइन सुरक्षाका प्रकार, विभिन्न अनलाइनका घटना, साइबर घटनाहरुलाई रोक्ने योजनालगायतका बारेमा प्रश्न गरेका थिए ।
कार्यक्रममा एसपी रिजालले प्रश्नको जवाफ दिनुहुँदै यस विषयमा बालबालिकासँग अन्तरक्रिया गर्दै आएको र जिम्मेवारीमा अगाडि बढिरहेको बताउनुभयो । विद्यार्थीहरु साइबर जोखिमको समस्यामा नपरुन् भनेर विद्यालयमा कार्यक्रमहरु गर्दै आएको उहाँको भनाइ छ । महिला, बालबालिका र जेष्ठ नागरिकको विषयमा प्रहरी सचेत रहेको उहाँले बताउनुभयो । बालबालिकाको मुद्दा प्रहरी कार्यालयमा आउनेबित्तिकै कानुनी प्रक्रिया अगाडि बढ्ने गरेको उहाँले विश्वास दिलाउनुभएको छ । उहाँले पालिकामा कानुन, अपराध, उजुरी, सडक सुरक्षाका गतिविधिबारे पाठ्यक्रम दिएको बताउनु भएको छ । बालबालिकाले आफ्नो सामाजिक सञ्जालको पासवर्ड बाँढेका कारण धेरै घटनाहरु प्रहरी कार्यालयमा आएको उहाँले बताउनुभयो ।