क्वार्टरफाइनलमा प्रवेश गर्ने आयोजक सयपत्री क्लब ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा विजयी हुँदै रमनटार एफसी र आयोजक सयपत्री युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार गाउँपालिका वडा–६ स्थित जोगीताल मैदानमा भएको खेलमा रमनटारले युथज्योति क्लबलाई १–० गोलले र सयपत्री क्लबले बेलचोकलाई २–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

रमनटारबाट खेलको १० औं मिनेटमा निकेश रुम्बाले गोल गरेका थिए भने सयपत्रीबाट अजय तामाङ र सुदेश मुक्तानले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रमनटारबाट निकेश र सयपत्रीबाट अजय घोषित भएका छन् । उनीहरु दुबै जनाले नगद पुरस्कार प्राप्त गरेका छन् । २०७२ सालको भूकम्पमा परेर निधन भएका फुटबल खेलाडी जोन राना मगरको स्मृतिमा क्लबले यस वर्षबाट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय जोनका दाजु जकै राना मगरले गर्नुभएको छ भने द्वितीय पुरस्कारको प्रायोजन सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताइएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल खेल भदौ १७ गते हुनेछ ।