लागुऔषध गाँजासहित पक्राउ परेका बिनोद र सुनिता । फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेशमा लागूऔषध प्रयोगकर्ताको संख्या सबैभन्दा बढी रहेको छ । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा लागूऔषध प्रयोगकर्ताको संख्या उच्च रहेको प्रहरीको तथ्यांक रहेको छ । प्रहरीका अनुसार सातै प्रदेशमा कुल एक लाख ३० हजार ४२५ लागूऔषध प्रयोगकर्तामध्ये बागमती प्रदेशमा मात्र ४६ हजार ४८० रहेको छ । जुन संख्या अन्य प्रदेशको भन्दा उच्च हो । सातै प्रदेशमध्ये बागमती प्रदेशमा कुल प्रयोगकर्ताको ३६ प्रतिशत रहेको छ ।

तथ्यांकअनुसार कोशी प्रदेशमा २७ हजार ६०५ जना लागूऔषध प्रयोगकर्ता रहेका छन् भने मधेश प्रदेशमा १५ हजार ८४३ रहेका छन् । गण्डकी प्रदेशमा ८ हजार ९५६, लुम्बिनी प्रदेशमा २५ हजार ९३०, कर्णाली प्रदेशमा १ हजार ८११ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८०८ लागूऔषध प्रयोगकर्ता रहेका छन् । नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुुसार लागूऔषध प्रयोगकर्तामध्ये महिला ८ हजार ७३२ जना (६.७ प्रतिशत) र पुरुष १ लाख २१ हजार ६९२ जना (९३.३ प्रतिशत) रहेका छन् । २०६९ देखि २०७६ सम्मको तथ्यांक हेर्दा प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको देखिन्छ भने अधिकांश लागूऔषध प्रयोगकर्ताहरु औसतमा १९ वर्षभन्दा कम उमेरमै पहिलो पटक कुनै न कुनै लागूऔषध सेवन गर्न सुरुआत गरेको देखिन्छ ।

नेपालमा प्रयोग हुने लागूऔषधमध्ये सबैभन्दा बढी गाँजाजन्य पदार्थ रहेको छ । नेपालमा ८०.४ प्रतिशत प्रयोगकर्ताले गाँजाजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांकमा उल्लेख छ भने डाईजेपाम ९.४ प्रतिशत, अफिमजन्य पदार्थ ४.७ प्रतिशत, ट्रामाडोल १.९ प्रतिशत, प्रिग्यावलिन १.९ प्रतिशत, सुँघ्ने पदार्थ १.८ प्रतिशत, भ्रमात्मक पदार्थ ०.५ प्रतिशत, उत्तेजनात्मक पदार्थ ०.१ प्रतिशत सेवन गर्ने गरिएको छ ।

नेपालमा १५ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको संख्या ०.२ प्रतिशत रहेको छ । जसमा सबै पुरुष प्रयोगकर्ता रहेका छन् । १५ देखि १९ वर्ष उमेर समूहका प्रयोगकर्ताको संख्या ७.२ प्रतिशत रहेको छ भने २० देखि २४ वर्ष उमेर समूहका प्रयोगकर्ताको संख्या ३४.३ प्रतिशत, २५ देखि २९ वर्ष उमेर समूहका ३५.२ प्रतिशत, ३० देखि ३४ वर्ष उमेर समूहका १२.६ प्रतिशत रहेको छ । यस्तै, ३५ देखि ३९ वर्ष उमेर समूहका ६.५ प्रतिशत, ४० देखि ४४ वर्ष उमेर समूहका २.७ प्रतिशत, ४५ देखि ४९ वर्ष उमेर समूहका १.५ प्रतिशत र ५० वर्षभन्दा माथिका ०.५ प्रतिशत प्रयोगकर्ता रहेका छन् ।

नेपालमा अधिकांश लागूऔषध प्रयोगकर्ताहरु साथी–संगतका कारण दुव्र्यसनमा फस्ने गरेको तथ्यांकले देखाएको छ । साथी–संगतका कारण नेपालमा ७८.७ प्रतिशत लागूऔषध प्रयोग गर्ने गरेका छन् भने कौतुहलता र उत्सुकताबाट ५८.५ प्रतिशत, १९.९ प्रतिशत पारिवारिक समस्या, अध्ययन समस्याबाट ४.२ प्रतिशत र अन्य १३.८ प्रतिशत रहेका छन् । नेपालमा प्रयोगकर्ताहरुले साथी संगतबाट नै लागूऔषधहरु प्राप्त गर्ने गरेका छन् । साथीहरुबाट ६७.७ प्रतिशत प्रयोगकर्ताले लागूऔषध प्राप्त गर्ने गरेका छन् भने डुल्ने बिक्रेताबाट १४.१ प्रतिशत, औषधी पसलबाट ८.४ प्रतिशत, अन्य पसलबाट ७.२ प्रतिशत, इन्टरनेटबाट २.२ प्रतिशत र अन्य स्रोतबाट ०.४ प्रतिशत प्रयोगकर्ताले लागूऔषध प्राप्त गर्ने गरेका छन् ।

नेपालमा प्रयोगकर्ताहरुले सबैभन्दा बढी धुवाँबाट लागूऔषध सेवन गर्ने गरेका छन् । तथ्यांकअनुसार नेपालमा धुवाँबाट सेवन गर्ने लागूऔषध प्रयोगकर्ताको संख्या ३४.९० प्रतिशत रहेको छ भने मुखबाट सेवन गर्ने लागूऔषध प्रयोगकर्ताको संख्या ३३.७० प्रतिशत, सुईबाट २९.३० प्रतिशत र अन्य माध्यमबाट २.१० प्रतिशत प्रयोगकर्ताले लागूऔषध प्रयोग गर्ने गरेका छन् ।

लागूऔषध दुव्र्यसनको प्रभाव
लागूऔषध दुव्र्यसनका कारण विषेशगरी सामाजिक र आर्थिकरुपमा प्रभाव पर्ने देखिन्छ । दुव्र्यसनका कारण परिवारमा तनाव, झै–झगडा, बेमेल, पारिवारिक विचलन, विखण्डन, सम्बन्धविच्छेद, व्यभिचार बढ्ने समस्या देखिन्छ भने क्रमशः चोरी, समाजबाट टाढा हुँदै जाने, सामाजिक अपराधमा संलग्नता बढ्ने, समाज तथा आफन्तका दृष्टिमा घृणाको पात्र बन्न सक्ने, कानुनको अवज्ञा गर्ने, अराजककता तथा गुण्डागर्दी गर्ने, घरेलु हिंसा गर्ने र लागूऔषधको कारोबारमा संलग्न हुनसक्ने सामाजिक असरहरु देखिन्छन् ।

लागूऔषध दुव्र्यसनका कारण व्यक्तिलाई आर्थिकरुपमा कमजोर बनाउनुको साथै मानव स्वास्थ्य, सार्वजनिक शान्ति, आर्थिक उन्नतिमा अपूरणीय क्षति हुने देखिन्छ । दुव्र्यसनका कारण अपव्यय बढ्ने, रोजगारीको अवसर गुम्ने, गरिबी बढ्ने, उत्पादकत्व तथा उद्यमशीलतामा ह्रास आउने, काममा अनियमितता र कार्यस्थलको वातावरण विथोलिनेजस्ता असरहरु पर्दछन् ।

लागूऔषध दुव्र्यसन नियन्त्रणका प्रयासहरु
नेपालमा लागूऔषध नियन्त्रणसम्बन्धी मुख्य मार्गदर्शक दस्तावेजका रुपमा लागूऔषध राष्ट्रिय नीति, २०६३ रहेको छ । सो नीतिअनुसार लागूऔषध नियन्त्रणमा आपूर्ति नियन्त्रण, माग घटाउने, उपचार तथा पुनःस्थापना, क्षति न्यूनीकरण, अनुसन्धान र विकास, सहकार्य तथा स्रोत साधन उपयोगका कामहरु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार लागूऔषधको दुव्र्यसन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालनलाई व्यापक र तिव्र पारिएको छ भने विद्यालयहरुमा लागूऔषध सम्बन्धी कक्षाहरु सञ्चालन गरिएको छ । लागूऔषधको ओसारपसार, बिक्रीवितरण तथा उत्पादनमा विशेष निगरानीको व्यवस्था गर्नुको साथै गस्ती बढाइएको प्रहरीको भनाइ छ । युवा वर्गलाई भेला हुन दुरुत्साहन गरिएको छ । लागूऔषधका दुव्र्यसनीहरुको पहिचान गरी कारवाही गर्ने, कारवाही प्रक्रियाबारे पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमद्वारा प्रचारप्रसार गर्ने, लागूऔषध नियन्त्रण अभियानमा स्थानीय समाजसेवी, क्लब तथा संघसंस्थाहरुलाई सहभागी गराउने, सीमा नाकाहरुमा कडाईका साथ चेकजाँच गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गरी लागूऔषध ओसारपसार र बिक्रीवितरण हुने इलाकाहरुमा कडाईका साथ चेकजाँच, लागूऔषध बढी उत्पादन हुने समयमा लागूऔषधको खेती नष्ट गर्ने गरिएको छ ।

यस्तै, विभिन्न संस्थाहरुसँगको समन्वय र सहकार्यमा अवैध गाँजा÷अफिम खेतीलाई विस्थापित गरी कृषकलाई कृषि/नगदे बालीतर्फ आकर्षित गर्न प्रेरित गर्ने काम भएको छ । अवैध गाँजा÷अफिम खेतीलाई विस्थापनको लागि प्रभावित क्षेत्रमा सुर्ती खेतीलाई समेत प्रोत्साहन कार्य अघि बढाइएको छ ।

दुव्र्यसन नियन्त्रणको जिम्मेवारी र भूमिका
लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि विषेशगरी तीन तहका सरकारबिचको समन्वय महत्वपूर्ण रहन्छ । तीन तहका सरकारबिच समन्वय र सहकार्यबाट प्रभावकारी योजनासहित अघि बढ्नु अहिलेको आवश्यकता हो । लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि स्थानीय तहले निर्धारित कार्यक्रममा सहयोग, समन्वय र साझेदारी गर्न भूमिका निर्वाह गर्नुपर्छ भने आफ्नो क्षेत्रभित्र लागूऔषधको अवस्था, जोखिमको मूल्यांकन गरी ठोस योजना तयार गर्नुपर्दछ ।

प्रदेश सरकारले प्रदेशभित्र लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि आवश्यक रणनीति लिने, सचेतना फैलाउने तथा तालिम र अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्ने कार्य गर्नुपर्दछ भने संघीय सरकारले जोखिममा रहेका युवाहरुलाई जोगाउने तथा प्रभावकारी योजनासहित कार्यक्रम तयार गर्नुपर्दछ । कानुन निर्माण तथा कार्यान्वयनमा सम्बन्धित निकायलाई निर्देशन गर्ने, प्रभावकारिताका लागि नियमनमा कडाई गर्ने काम संघीय सरकारले गर्नुपर्दछ ।

यस्तै, लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि निजी क्षेत्रले सरकारको लक्ष्य प्राप्तिमा सहयोगीको भूमिका निर्वाह गर्नुपर्दछ । लागूऔषध प्रयोगकर्ताहरुको लागि आधुनिक एवम् गुणस्तरीयरूपमा पुनःस्थापना केन्द्रहरुको सञ्चालन गर्न जरुरी रहेको छ । नागरिक समाजबाट लागूऔषधको जोखिम तथा यस क्षेत्रमा देखिने समस्याहरुको बारेमा आवश्यक खबरदारी गर्ने तथा नागरिकमा लागूऔषधविरुद्ध सचेतना जगाउन विभिन्न अभियानहरु र आवश्यकता अनुसार अन्य क्रियाकलापहरु सञ्चालन गर्ने, गैरसरकारी क्षेत्रबाट राज्य र समुदायसँग समन्वयमा रही सचेतना वृद्धि गर्ने, स्थानीयस्तरमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ ।

लागूऔषधको दुव्र्यसन नियन्त्रणका लागि परिवारको तर्फबाट आफ्ना छोराछोरीको उचित रेखदेख गर्नुपर्दछ भने विद्यालय जाने छोराछोरी भएमा जाने र आउने समय ख्याल गर्ने, साथीसंगतका बारेमा जानकारी राख्ने, विद्यालयका बारेमा जानकारी राख्ने, समय–समयमा विद्यालय वा कलेजमा सम्पर्क राख्ने, खराब साथी र संगतमा पर्न नदिन वातावरण बनाउने, छोराछोरीको रुचिमा ख्याल गर्ने र उमेरलाई विचार गरी रुचिअनुसारको काम गर्ने क्षमताको सिर्जना गर्ने, विभिन्न किसिमको रचनात्मक गतिविधिमा लाग्न उत्प्रेरित गर्ने, समय–समयमा राम्रा विषयमा उनीहरुलाई जानकारी गराउने । छोराछोरीको सामुन्ने कुनै किसिमको नराम्रो बानी व्यहोरा प्रदर्शन नगर्ने, नराम्रो गरेमा तुरुन्त त्यसको प्रतिक्रिया जनाउनेजस्ता भूमिका निर्वाह गर्नुपर्दछ ।

लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि समाजका तर्फबाट स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, लागूऔषध विशेषज्ञ तथा तालिम प्राप्त व्यक्तिहरुबाट प्रशिक्षण दिन लगाउने, बढ्दो बेरोजगारी समस्या समाधान गर्न सीपमूलक तालिम सञ्चालन गरी रोजगारीमा लगाउने, लागूऔषध तथा सोको सेवनकर्तामा हुनसक्ने असरबारे जानकारी गराउने, आफ्नो टोल छिमेक एवम् बस्तीमा अनावश्यकरुपमा युवायुवती भेला हुन नदिने, नयाँ मानिसहरुको आवतजावत भएमा निगरानी राख्ने, छिमेकमा कुनै दुव्र्यसनी भएमा सुधारका लाग उपचारको व्यवस्था मिलाउनु पर्दछ ।

लागूऔषध दुव्र्यसन नियन्त्रणका चुनौतीहरु
लागूऔषध दुव्र्यसनका कारण प्रयोग र कारोबार दुबैको मात्रामा विस्तार तथा विविधिकरण देखिएको छ । लागूऔषध र मनोद्वीपक पदार्थहरुको दुरुपयोग, अवैध खेती, उत्पादन बढेको देखिन्छ भने लागूऔषधसम्बन्धी गैरकानुनी गतिविधिमा सूचना तथा सञ्चार प्रविधिको आपराधिक दुरुपयोगमा वृद्धि भइरहेको छ ।

सिन्थेटिक ओपियड्स र प्रेस्किप्सनबमोजिमका औषधीको गैर चिकित्सकीय प्रयोग बढिरहेको छ भने लागूऔषधको अवैध कारोबारबाट उत्पन्न अवैध मुद्रा निर्मलीकरण भइरहेको छ । अवैधरुपमा नयाँ–नयाँ प्रकारका मनोद्वीपक पदार्थहरुको उपलब्धता बढेको छ भने लागूऔषध अपराधमा संलग्न कारोबारीहरुको आपराधिक कार्यविधि तथा शैलीमा परिवर्तन हुनुका साथै खर्चिलो सूचना व्यवस्थापन विधि र बजेटको सिमितता देखिएको छ ।