निब्टा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले साउन महिनामा तीन सय ६३ युनिट रगत संकलन गरेको छ । एक महिनाको अवधिमा केन्द्रको प्राविधिक सहयोगमा विभिन्न संघसंस्थाले गरेको रक्तदान कार्यक्रम र केन्द्रमै गएर रक्तदान गरेकाबाट उक्त रगत संकलन गरिएको हो ।

साउन महिनामा नौं वटा संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए । केन्द्रले रक्तदान कार्यक्रमबाट दुई सय ८२ युनिट रगत संकलन गरेको थियो भने ८१ जनाले केन्द्रमै पुगेर रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभयो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । मकवानपुरको भीमफेदी गाउँपालिका–४, निबुवाटारस्थित निब्टा क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । यस्तै, नेकपा एमाले मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी पिप्ले–पोखरा उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका प्रमुख दाहालले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका–११ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए । हेटौंडा–८ स्थित लाङ्टाङ बाल समूहको आयोजनामा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । हेटौंडा उपमहानगरपालिका–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको दाहालले बताउनुभयो ।

रक्तसञ्चार केन्द्र हेटौंडाले साउन महिनामा १४ युनिट सेतो रगत बनाई वितरण गरेको छ भने समग्रमा तीन सय ६५ युनिट रगत वितरण गरेको छ । केन्द्रले सेतो रगत बनाउने मेसिनमा समस्या आएका कारण साउन महिनामा सेतो रगत कम बनेको दाहालले बताउनुभयो । हाल अहिले मेसिन सञ्चालनमा आएको दाहालले प्रष्ट पार्नु भएको छ । केन्द्रमा अहिले ए पोजेटिभ रगतको अभाव रहेको दाहालले बताउनु भएको छ । हेटौंडामै रगतको खपत भएकाले मकवानपुर बाहिर पठाउने अवस्था नरहेको र माग पनि नभएको उहाँले बताउनुभयो ।