सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको दुई जिल्लामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । चितवन र रामेछाप जिल्लामा एक–एक जनाको मृत्यु भएको हो ।

मंगलबार दिउँसो १ बजेर ३० मिनेटको समयमा चितवनको कालिका नगरपालिका–७, स्याउली बजार नजिकै खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय राम अर्यालको मृत्यु भएको हो । खोलामा हात खुट्टा धोइरहेको अवस्थामा अर्याललाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खोला बगाएको दुई घण्टापछि ४ किलोमिटर तल कालिका–६ स्थित कुलोमा अर्याल मृत अवस्थामा फेला परेका थिए । शवलाई साँझ ५ बजे नै मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा लगिएको थियो ।

यस्तै मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा रोमछापको मन्थली नगरपालिका–१० स्थित चनखु खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । खोलाले बगाएर बेपत्ता भएकी सोही ठाउँकी ४० वर्षीया लोकमाया श्रेष्ठको मृत्यु भएको हो । घरदेखि ६ सय मिटर दुरीमा रहेको उक्त खोलाले बगाएर श्रेष्ठ बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी नायव उपरीक्षकको टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएकी श्रेष्ठ एक किलोमिटर तल मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।