नेपाल जातीय, सांस्कृतिक, धार्मिक, भाषिक विविधता भएको देश हो । यी विविधताकै कारण हामीकहाँ धेरै प्रकारका चाडपर्व मनाउने गरिएको छ । विभिन्न जातजातिका आ–आफ्नै परम्परा र संस्कारअनुरुप विभिन्न चाडपर्व मनाउने गरिन्छ । एकै दिन पर्ने कतिपय चाडपर्वलाई एकभन्दा बढी जाति र समुदायले फरक–फरक तरिकाले मनाउने गर्दछन् । यस्तैमध्येको एउटा चाड हो, जनैपूर्णिमा । यस दिनलाई जनैपूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी, राखी, क्वाँटी खाने दिन, संस्कृत दिवसलगायत पर्वको रुपमा मनाउने गरिन्छ । नेवार समुदायले यस दिनलाई गुन्हु पुन्हीको रुपमा पनि मनाउँछन् । पछिल्लो समय चाडपर्वमा एकअर्का समुदायका व्यक्तिहरुको सहभागितामात्रै होइन, ती पर्वहरुको अनुकरण गर्ने कुरामा पनि तीब्रता आइरहेको छ । एउटा समुदायको परम्परा, संस्कृति र उसले मनाउने चाडपर्वमा अर्को समुदायको सहभागिताले सामाजिक सद्भाव कायम गराउन र सामाजिक एकता कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ । यससँगै अरुको नक्कल गर्ने र आडम्बरयुक्त व्यवहारको चपेटामा चाडपर्वको सकारात्मक पक्ष ओझेलमा पर्दै जानु चिन्ताको विषय बनेको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज आज सोमबार नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट जनै धारण गरेर रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीहरूले यसदिन बिहानै विशेष चोखो माटो, खरानी, गोबर, जौ, तिल, कुश प्रयोग गरी स्नान गर्छन् । सप्तऋषिहरूको पूजा गरी वेदमन्त्रले नयाँ जनै मन्त्रेर रुद्राभिषेकसहित नयाँ जनै प्रयोग गरी पुरानो जनै झिक्ने गर्छन् । विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कृति, बुद्धि, धर्म वृद्धिको साथै आयु र आरोग्यसमेत प्राप्त हुने धार्मिक विश्वास छ । विभिन्न रङको डोरो लगाउने प्रचलनलाई पनि यस दिन उत्तिकै महत्व दिइन्छ । पहेँलो, रातो, सुन्तला रङले सजाएको धागोको डोरो हातमा बाँध्नाले पुरुष, स्त्री, बाल, वृद्ध सबैजना वर्षभरि नै सुरक्षित हुने पूर्वीय चिन्तन रहेको छ ।

आजकै दिन दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन (राखी) बाँधिदिने चलन पनि छ । नेपालको तराई क्षेत्रमा प्रचलित राखी बाँध्ने चलन पछिल्लो समय सबैतिर फैलँदै गएको छ । भारतमा बढी प्रचलित यो परम्पराले भारतसँग सीमा जोडिएको र भाषा, संस्कृति मिल्दोजुल्दो भएका कारण नेपालको तराई क्षेत्रमा पनि व्यापकता पाइरहेको थियो । अहिले संस्कृतिको विस्तार हुँदै जाँदा राखी बाँध्ने चलन देशव्यापी बन्दै गएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने चलन पहाडी क्षेत्रमा पनि विस्तार भइरहेको छ । यसै दिन विभिन्न प्रकारका गेडागुडी मिसाएर पकाइएको क्वाँटी खाने चलन पनि छ । भिजाएर उमारेको गेडागुडी (क्वाँटी) खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षात्का कारण चिसो भएको शरीरमा ताप सञ्चार हुने विश्वास गरिन्छ ।

वर्षात् सकिएर शरद ऋतु प्रवेशसँगै नेपालमा लगातार चाडपर्वहरु आउँछन् । चाडपर्व हाम्रो धर्म, संस्कृतिलाई उजागर गर्ने र मौलिकता प्रदर्शन गर्ने माध्यम हो । हाम्रा अधिकांश चाडपर्व पारिवारिक मेलमिलापको आधार र आफन्तजन भेटघाटको अवसर पनि हो । हाम्रा चाडपर्वहरुले धर्म, संस्कृतिमात्र नभई विविध प्रकृतिको महत्व पनि उजागर गर्ने भएकाले यस्ता चाडपर्वलाई वैज्ञानिक दृष्टिकोणबाट पनि उजागर गर्नु आवश्यक बनेको छ । आज जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाउँदै गर्दा यसको धार्मिक, सांस्कृतिक, वैज्ञानिक सबै प्रकारका महत्वलाई हामी नेपालीले बुझ्न सक्नुपर्छ । प्रचलित मूल्य मान्यताअनुसार हर्ष, उल्लासका साथ जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाऔं, विविधताबीच एकता कायम गरौं ।