शुल्क वृद्धि निर्णय खारेज गर्न क्याम्पस प्रमुख देवीराम लामालाई ध्यानाकर्षण पत्र बुझाउँदैको तस्वीर ।

हेटौंडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयवियु) हेटौंडा क्याम्पस कमिटीले क्याम्पसले शुल्क वृद्धि गरेको भन्दै ध्यानाकर्षण गराएको छ । शुल्क वृद्धिका कारण विद्यार्थीहरूलाई अनावश्यक आर्थिक भार थप्ने र विद्यार्थीहरुको शैक्षिक जीवनमा नकारात्मक असर पार्ने सम्भावना देखिएकाले अनेरास्ववियु क्याम्पस कमिटीले ध्यानाकर्षणपत्र बुझाएको हो ।

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष अभि मैनालीले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र क्याम्पस प्रमुख देवीराम लामालाई बुझाएको हो । क्याम्पस प्रशासनले गरेको शुल्क वृद्धिसम्बन्धी निर्णयका कारण दूरदराज र निम्न आय भएका विद्यार्थीहरूलाई गम्भीर आर्थिक समस्यामा पार्ने सम्भावना देखिएको बताइएको छ ।

अनेरास्ववियु सदैव सामाजिक न्याय, समानता र संविधानले सुनिश्चित गरेको अधिकारका पक्षमा दृढ रहेकाले हेटौंडा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको समस्या आफ्नो समस्या भएको बताइएको छ । क्याम्पसभित्र हुने बेथिति विसंगति र अराजकता विरुद्ध विद्यार्थीहरुको आवाजलाई बुलन्द गर्न र सम्बन्धित निकायलाई खबरदारी गर्नुका साथै हरेक परिस्थितिमा डटेर समस्या सामना गर्न तप्तर रहेको अनेरास्ववियुद्वारा बुझाइएको ध्यानाकषणपत्रमा उल्लेख गरिएको छ ।

क्याम्पस प्रशासनलाई शुल्क वृद्धिको विषयमा समयमै कदम चाल्न र शुल्क वृद्धि निर्णय फिर्ता गर्न अनुरोध गरेको छ । विद्यार्थीको हक र हितका लागि ध्यानाकर्षण गराउँदै संगठनले अघि सारेको माग पूरा नगरेमा शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ । संगठनमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थितिमा ध्यानाकर्षणपत्र बुझाइएको थियो ।