हेटौंडाः श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा रक्षाबन्धन आज सोमबार मनाइँदै छ । जनैपूर्णिमाको अवसरमा हिन्दू धर्मावलम्बीहरुले बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागोस्, सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन् । रक्षाबन्धन बाँध्दा दैत्यराजा बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ ।
यसै दिन पुरानो जनै फालेर मन्त्रसाधना गरिएको नयाँ जनै लगाउने गरिन्छ । कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र गरी सात जना ऋषि (सप्तऋषिलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।
विशेषगरी तराई क्षेत्रमा रक्षाबन्धनको महत्व बढी रहेको पाइन्छ । आजकै दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा रक्षाबन्धन (राखी) बाँध्ने चलन छ । दिदीबहिनीले आफ्ना दाजुभाइका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने चलन छ ।
नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ को रुपमा मनाउने गर्दछन् । यस दिन मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाने चलन छ ।
जनै पूर्णिमाकै दिन रसुवाको गोसाइँकुण्ड र पार्वतीकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, बागलुङको ढोरपाटन, रामेछापको जटापोखरी र पाँचपोखरी, भक्तपुरको विसंतकी, म्याग्दीको रिखार, नवलपरासीको त्रिवेणी, दैलेखको महावु, बाजुराको बडीमालिका, मुगुको छायाँनाथलगायत स्थानमा मेला लाग्ने गर्दछ ।