हेटौँडा उपमहानगरले राजश्व वृद्धि गरेको विरोधमा गरिने कार्यक्रम तय गर्न बसेको बैठकमा सहभागीहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गरेको करवृद्धिको विरोधमा आन्दोलनको घोषणा गरेका व्यवसायीले आज बुधबार नगरपालिकामा धर्ना दिने कार्यक्रम रहेको छ । आज बिहान ९ बजे पल्पसा सदनमा भेला भई उपमहानगरपालिकामा धर्ना दिने कार्यक्रम रहेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

व्यवसायीको आन्दोलनको समन्वय र सहजीकरण मकवानपुर उद्योग वाणिज्य संघले गरिरहेको छ । व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरुले ऐक्यवद्धता जनाएका छन् । यसअघि हिजो मंगलबार व्यवसायीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएका थिए ।

हिजो मंगलबार दिउँसो मुख्यमन्त्री लामालाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्तासहितको व्यवसायीको समूहले ज्ञापनपत्र बुझाएको हुन् । व्यवसायीको ज्ञापनपत्र बुझ्नु हुँदै मुख्यमन्त्री बहादुरसिंह लामाले आफू पनि व्यवसायी भएको र व्यवसायीको दुख थाहा भएको उल्लेख गर्नुभएको छ । उहाँले एकजना व्यवसायीले धेरैतिर दर्ता, नवीकरण, जरिवाना तिर्दा हैरान हुने र व्यवसायी निरन्तर मारमा परिरहने बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर, घरभाडाको आधारदर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा भारी वृद्धि गरेको भन्दै व्यवसायीले सोमबार पहिलो चरणको पाँँच दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । आन्दोलनको दोस्रो दिन जिल्लाका सबै राजनीतिक दल, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयसँगै प्रदेशको आर्थिक ममिला मन्त्रालय, उद्योग मन्त्रालय र मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको हो ।