कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडामा सोमबार मानव बेचविखन अन्त्यका लागि विषयगत प्रादेशिक संवाद कार्यक्रम भएको छ । ग्रामीण स्वास्थ्य र सेवा गुठी संस्थाले मानव बेचविखन रोक्न नेपालका ग्रामीण बालिका र युवाहरुलाई सशक्तिकरण गर्ने परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयकी लैंगिक सम्पर्क व्यक्ति चन्द्रकुमारी व्यञ्जनकारले मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्ध प्रदेशस्तरीय संरक्षण नीति २०८० तयार पारेर काम गरिरहेको बताउनुभयो । अहिले मानव बेचविखन तथा ओसारपसारबारे आधिकारिक सूचना संकलनमा कठिन रहेको उहाँले बताउनुभयो । बेचविखनका आयाम र स्वरुपहरु प्रविधि विकाससँगै परिवर्तन भइरहेको उहाँको भनाइ छ ।

नीतिले मानव बेचविखन तथा ओसारपसारबाट जोखिम उन्मुख प्रदेशबासीको सामाजिक–आर्थिक रुपान्तरण गर्दै बेचविखन तथा ओसारपसारका घटनालाई नियन्त्रण गर्न र पीडित प्रभावितको उचित संरक्षण तथा पुनःस्थापनालाई सुनिश्चित गर्न जवाफदेही प्रणालीको माध्यमबाट अविच्छिन्न सेवा उपलब्ध गराउने लक्ष्य लिएको उहाँले बताउनुभयो । यसका लागि मन्त्रालयले विभिन्न संघसंस्थामार्फत् कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । प्रदेशभित्र अभिभावकविहीन बालबालिकालाई १८ वर्ष उमेरसम्म मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने र महिलालाई उद्यमी बनाउन विभिन्न तालिम गर्दै आइरहेको उहाँले बताउनुभयो ।

मानव अधिकार आयोगका उपसचिज पवनकुमार भट्टले अहिले आयोगसँग मानव बेचविखनका कुनै घटना नभएको बताउनुभयो । अहिले बेचविखनकै बहानामा नभई विभिन्न माध्यम र स्वरुपमा घटना भने भएको हुनसक्ने उहाँको भनाइ छ । समाजमा बेचविखनका घटना भएपछि आत्मसम्मान र प्रतिष्ठाका लागि पनि घटना लुकाएको हुनसक्ने र यसबारे आयोगले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । मानव बेचविखन गम्भीर विषय भएपनि यसलाई लुकाउने काम घर–समाजबाट भइरहेको हो कि भन्ने लागेको उहाँले बताउनुभयो । २०७८ सम्ममा देशभर ४० हजारभन्दा बढी मानव बेचविखनका घटना भएको हुनसक्ने आयोगको अनुमान छ । त्यसपछि यता बागमती प्रदेशमा भने कुनै बेचविखनको घटना देखिएको छैन ।

हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले पहिलाको तुलनामा अहिले मानव बेचविखनका स्वरुप बदलिएको हुनसक्ने बताउनुभयो । अहिले समाजमा आर्थिक अवस्थाका कारण बालबालिकाहरु विद्यालय छोड्न बाध्य भएपछि बालश्रम र बालविवाह हुने अवस्था देखिएको उहाँले बताउनुभयो । त्यसपछि विस्तारै बालबालिका र केही ठूलाहरु पनि बेचविखनमा पर्न सक्ने उहाँको भनाइ छ । हेटौंडा उपमहानगरपालिका बेचविखनविरुद्ध गम्भीर रहेको उहाँले बताउनुभो । उपमहानगरपालिकाले वार्षिक नीतिमा पनि यसलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले अहिले मानव बेचविखनका कुनै घटना नभएको देखिए पनि आन्तरिकरुपमा बेचविखनका घटनाहरु भइरहेको हुनसक्ने बताउनुभएको छ ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा पनि बेचविखनकै रुपमा नभई विभिन्न माध्यमबाट यस्तो घटनाहरु भइरहेको उहाँको भनाइ छ । घटना भएपछि घर फर्किंदा प्रतिष्ठा गुम्ने डरले पनि घटना लुकाएको र उनीहरुलाई परामर्श दिन पनि गाह्रो पर्ने उहाँले बताउनुभयो । उहाँले सरकारले मावन बेचविखनविरुद्ध बनाएको नीतिहरुको कार्यान्वयन गर्दै सचेतनाका कार्यक्रमहरुमा जोड दिनुपर्ने बताउनुभएको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दाताराम अधिकारीले प्रहरीमा अहिले मानव बेचविखनका कुनै घटना नआएको बताउनुभएको छ । घटना नभएकै भन्दा पनि घटना भए पनि प्रहरीमाझ नआइपुगेको हो कि भन्ने लागेको उहाँको भनाइ छ । अहिले पनि कोही मान्छे हराउँदा ढिलै भएपनि प्रहरीमा खबर आउने तर भेटिएपछि प्रहरीमा खबर नै नआउने गरेको उहाँले बताउनुभयो । हराउनेहरुमा महिला र बालबालिका बढी पाइएको र हालसम्म प्रहरीमा आएको उजुरीमा ७० प्रतिशतभन्दा बढी प्रहरीले फेला पारेको उहाँले बताउनुभयो ।

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपालकी कार्यक्रम संयोजक बेनुमाया गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीकी कार्यकारी निर्देशक डा.अरुणा उप्रेतीले कार्यक्रमबारे स्पष्ट पार्नुभयो ।