हरेक वर्ष अगस्ट १२ का दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्र संघको सन् १९९९ मा भएको महासभाले गरेको निर्णयअनुसार सन् २००० देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष २५ औं अन्तर्राष्ट्रिय युवा दिवस साउन २८ गते सोमबार मनाइएको छ । युवा दिवसको अवसरमा संघ, प्रदेश र स्थानीय तीनै तहका युवासम्बद्ध सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै गर्दा हजारौं युवा विदेश जान विमानस्थलमा लाइन लागिरहेका छन् । देशका युवा जति विदेश पठाएर देशभित्र युवा दिवस मनाउनुको कुनै अर्थ रहँदैन । विदेशिएका वा विदेशिन चाहने युवालाई देशमै उचित वातावरण र अवसर दिएर विदेश पलायन रोक्न युवा दिवस प्रभावकारी बन्नुपर्छ ।
कुनै पनि देशको विकास समृद्धिमा युवाको भूमिका महत्वपूर्ण हुन्छ । युवामा शारीरिक र मानसिकरुपमा उत्साहपूर्वक काम गर्ने क्षमता अन्य उमेर समूहका मानिसमा भन्दा बढी हुन्छ । युवा पुस्ता शिक्षा, स्वास्थ्य, चेतनाको आधारमा पनि अन्यभन्दा अग्रस्थानमा नै हुने गर्दछन् । त्यसैले युवा शक्तिलाई कुनै पनि देशको अमूल्य सम्पत्ति मानिन्छ । देश निर्माणमा युवा जनशक्तिको अति महत्वपूर्ण भूमिका हुने भएकै कारण देशको भविष्य युवाको काँधमा छ भन्ने गरिन्छ । त्यसैले युवालाई देशको वर्तमान र भविष्य दुबैको आधार मान्ने गरिएको छ । विकसित देशहरुले युवालाई विभिन्न अवसर प्रदान गरी उनीहरुको क्षमता वृद्धि गर्दै देश विकासमा योगदान दिनसक्ने बनाउने गरेको भए पनि हाम्रो देशमा भने युवालाई विदेशिन बाध्य पार्ने काम भइरहेको छ । देशका कुल युवा जनसंख्यामध्ये आधाभन्दा बढी वैदेशिक रोजगार वा अध्ययनका लागि विदेशिएको अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय युवा दिवस मनाउनु निरर्थकजस्तै बनिरहेको छ ।
हुन त नेपालमा युवालाई हेर्ने दृष्टिकोणसमेत सकारात्मक छैन । राजनीतिक नेतृत्वदेखि सबै तह र निकायमा युवाले उचित अवसर पाउन सकेका छैनन् । देशमा सक्षम युवा नेता हुँदा पनि सबैजसो राजनीतिक दलको शीर्ष तहमा वृद्ध नेताहरुकै हालीमुहाली छ । बारम्बार सरकारको नेतृत्व गर्ने वृद्ध नेताले युवालाई उचित अवसर नदिएकै कारण देशको नीति तथा कार्यक्रमसमेत युवामैत्री बन्न सकेको छैन । कति उमेर समूहका मानिसलाई युवा मान्ने भन्ने ठोस आधारसमेत मुलुकमा पाइँदैन । संयुक्त राष्ट्रसंघले १८ देखि २४ र विश्व स्वास्थ्य संगठनले १५ देखि २४ वर्षकालाई युवा भनेको छ । तर, नेपालमा युवाको स्पष्ट मापदण्डसमेत पाइँदैन । युवा क्रियाकलापसम्बन्धी उच्चस्तरीय प्रतिवेदन २०५३ ले १५ देखि २५ वर्षकालाई युवा मानेको भए पनि विगतका कतिपय पञ्चवर्षीय योजनामा १५ देखि २९ वर्ष उमेरलाई युवा मानिएको थियो । वर्तमान राष्ट्रिय युवा नीतिले १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनेको भए पनि आ–आफ्नो अनुकूलतामा युवालाई परिभाषित गर्ने गरिएको छ ।
युवा जनसंख्यालाई संसारका कुनैपनि देशले आ–आफ्नै उमेरको परीधिमा राखे पनि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूह हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छुजस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामथ्र्यले भरिपूर्ण हुन्छ । युवाहरुको सहभागिताबाटै विश्वका सबैजसो परिवर्तन र विकास भएका छन् । त्यसैले युवा जनशक्तिलाई देश विकासका लागि अवसर र चुनौती दुबै रुपमा लिने गरिन्छ । तर हाम्रो देशले युवाको सोच, ऊर्जा, चेतना, क्षमतालाई बुझ्न नसकेर पलायन हुन बाध्य बनाइरहेको छ । क्षमतावान र कर्मयोगी युवाहरु विदेशिँदै जाने हो भने हाम्रो देशको विकासको गति निकै सुस्त हुने निश्चित छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा युवालाई देशभित्रै कसरी टिकाउने भन्नेतर्फ विशेष ध्यान दिनु आवश्यक छ । अन्यथा भविष्यमा युवाबिनाको युवा दिवस मनाउनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।