हेटौँडाः व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौँडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । सोमबार दिउँसो मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा मकवानपुरका व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।
करको दर र दायरा बढाउँदै नयाँ शीर्षकमा पनि उच्च दरमा करको दर कायम गरेको भन्दै नगरप्रमुख, उपप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै उपमहानगरको सकारात्मक प्रतिक्रियाको अपेक्षामा रहेका व्यवसायीले अन्ततः आन्दोलनको घोषणा गरेका हुन् । यसअघि व्यवसायीको ध्यानाकर्षणप्रति सकारात्मक रहँदै नगरप्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले नगर कार्यपालिकाबाट संशोधनको प्रयास गर्ने आश्वासन दिएका थिए । तर, आश्वासनविपरित कार्यपालिका बैठकको कार्यसूचिमा रहेर पनि अनिर्णित रहँदै व्यवसायीको ध्यानाकर्षणप्रति बेवास्ता गरिएपछि आन्दोलनको घोषणा गरिएको हो ।
आन्दोलनको घोषणाअघि आइतबार मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई राजश्व वृद्धि गर्ने निर्णयको प्रक्रियागत प्रतिलिपि माग गरेको छ । कोभिड–१९ देखि निरन्तर व्यवसाय खस्कँदो अवस्था रहेका बेला सहयोग गर्नुपर्ने स्थानीय सरकारले करको दर बढाएर व्यवसायीलाई थप पीडा दिने काम गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो ।
समग्र उद्योग, व्यवसाय धरासायी भएको र भविष्यमा अझ ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने पूर्वसंकेतको संशय पैदा भइरहेको सन्दर्भमा राजश्वको दर बढाउनु सान्दर्भिक नभएको संघको ठहर छ । पटक पटक आग्रह गर्दा पनि सुधार गर्नुको विपरित नयाँ करको दर कार्यान्वयनतर्फ उपमहानगरपालिका अग्रसर भएपछि आन्दोलन गर्न बाध्य भएको अध्यक्ष गुप्ताले बताउनुभएको छ ।
पाँच दिने आन्दोलनका कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघले उपमहानगरपालिका कार्यालयमा धर्ना दिनेदेखि व्यवसाय बन्द गरेर चाबी उपमहानगरपालिकालाई बुझाउनेसम्मका कार्यक्रम घोषणा गरेको छ । पाँच दिने संघर्षका कार्यक्रमसँगै उद्योग वाणिज्य संघले व्यवसायीहरुको तर्फबाट सामूहिक रुपमा उपमहानगरपालिका विरुद्ध मुद्दा समेत दर्ता गराउने जनाएको छ ।
पाँच दिने कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार बिहान राजनीतिक दलसम्वद्ध व्यावसायिक संघ, संस्थाका प्रतिनिधि र सहकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ । सोमबार दिउँसो १२ बजे व्यापारीको भेला आयोजना गरेर आन्दोलनको आवश्यकता, औचित्य र व्यवसायीको साथ सहयोगका विषयमा जानकारी गराइएको थियो भने दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनको औचित्य, संघको धारणा र संघर्षका कार्यक्रमबारे जानकारी गराएको छ ।
दोस्रो दिन मंगलबार कर अवज्ञा गर्न व्यवसायी र नगरवासीलाई आव्हान गर्न सुरु गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रियाको कार्यक्रम तय गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले जानकारी दिनुभएको छ ।
तेस्रो दिन बुधबार हेटौँडा बजारको बुद्धचोकसँगै विभिन्न स्थानमा राजश्व वृद्धिको निर्णय विरुद्ध हस्ताक्षर संकलन गर्ने, हेटौँडा उपमहानगरपालिकामा १ घण्टा धर्ना दिने, राजश्व वृद्धिको विरोधमा विभिन्न स्थानमा कालो व्यानर राख्ने जनाइएको छ । चौथो दिन बिहिबार हेटौँडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने जनाएको छ ।
संघर्षको कार्यक्रमअन्तर्गत पाँचौं दिन शुक्रबार ¥यालीसहित व्यापार व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिकामा चावी बुझाएर पहिलो चरणको आन्दोलनको कार्यक्रम समापन गर्ने बताइएको छ । आन्दोलनका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन हरेक दिन फरक फरक पदाधिकारीलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाई, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सचिव वीरेन्द्र ढुंगाना, उद्योग वाणिज्य संघका बस्तुगत संघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।