हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले करिब ७२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सोमबार बिहान १ बजेर १० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय बाराबाट प्रहरी बल नायव निरीक्षक त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका–२१ अमलेखगन्जबाट अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रहरीले वीरगंजबाट चितवन जाँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकलाई रोकी सुरक्षाजाँच गर्दा अवैध सामान बरामद गरेको थियो । प्रहरीले ट्रकबाट बिल नभएको ७१ लाख ६७ हजार ५ सय ३४ रूपैया बराबरका कस्मेटिक, तयारी कपडा, मिल पार्टस लगायतका अन्य खुद्रा सामानहरू बरामद गरेको थियो । अवैध सामानसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय, बारा पठाइएको सापकोटाले बताउनुभयो ।