हेटौंडाः हेटौंडा अस्पतालमा रहेको अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा आर्थिक वर्ष २०८०/८१ मा दुई सय एक जना पीडित भएका छन् । सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको अध्यक्षतामा हेटौँडा अस्पतालको सभा कक्षमा ओसिएमसीकी स्टाफ नर्स सविता सापकोटाले आर्थिक वर्षको विवरण प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा १० जना महिलाको उद्दार एवम् पुनस्र्थापना गरेको छ । ओसिएमसीले गत आर्थिक वर्ष ३ लाख एक हजार एक सय १४ लागतमा १० जना हिंसापीडित महिलाहरुलाई पुनस्र्थापना तथा जिविकोर्पाजनका लागि राहत सहयोग गरेको सापकोटाले बताउनुभयो । केन्द्रले सबै वर्ग, जाती क्षेत्र र हिंसालाई समेटने प्रयास गरेको उहाँको भनाइ छ । सोमबार वार्षिक समिक्षाको आयोजना गर्दै केन्द्रले २ जनालाई सिलाई कटाई, ३ जनालाई स्टेशनरी तथा अन्य सामग्री, १ जनालाई ठेला पसल तथा सामग्री र ४ जनालाई बाख्रापालन व्यवसाय गर्न सहयोग गरेको बताएको छ । ओसिएमसी एक वर्षमा २ सय ९४ जना हिंसा पीडितलाई सेवा पदान गरेको छ भने एक जनालाई आँखा अस्पतालमा रिफर गरेको छ । हिंसा पीडितमा २ सय ७८ जना महिला, १२ जना पुरुष र ४ जना अल्पसंख्यक परेका हुन् ।
प्रस्तुत गरिएको तथ्यांक अनुसार हेटौंडा उपमहानगरपालिकाका एक सय २१ जना, थाहा नगरपालिकाका १० जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना, कैलाश गाउँपालिकाका ११ जना, मकवानपुर गाउँपालिकाका २९ जना, बकैया गाउँपालिकाका २२ जनाले सेवा प्राप्त गरेका छन् । केन्द्रले मनहरी गाउँपालिकाका ३२ जना, भिमफेदी गाउँपालिकाका ११ जना, राक्सिराङ गाउँपालिकाका १२ जना, बागमती गाउँपालिकाका १२ जना र अन्य जिल्लाका ३३ जनाले ओसिएमसीबाट सेवा प्रदान गरेको हो ।
हेटौँडा उपमहानगरपालिकाले प्रदान गरेको २ लाख नगदबाट ओसिएमसीले चुरिमाई माध्यमिक विद्यालयका विद्यार्थीलाई लैङ्गिक हिंसा बिरुद्ध जनचेतना, महिला स्वयमसेविका र आमा समुहहरुलाई एकदिने अभिमुखीकरण गरिएको जनाएको छ । गत आर्थिक वर्षमा २५ लाख विनियोजन गरिएको बजेटबाट २४ लाख २४ हजार एकसय २० खर्च गरेको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा ओसिएमसीले २६ लाखको अनुमान गरेको छ ।
वार्षिक समीक्षामा जिल्ला समन्वय अधिकारी शान्ति बिक, हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई, जिल्ला बार एसोसिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतको पनि आतिथ्य रहेको थियो । समीक्षामा सहभागीले ओसिएसमीको काम सन्तोषजनक भएको प्रतिक्रिया दिएका थिए । हिंसा पीडितको अवस्थाका बारेमा सुक्ष्म विश्लेषण गरेर पालिकास्तरमै हिंसा न्यूनीकरणको प्रयास हुनुपर्नेमा पनि सहभागीले जोड दिएका थिए ।