बिमल केशरी पौड्याल

२०८० को एसईईको परीक्षाफल प्रकाशित भएसँगै शैक्षिक सुधारको आवश्यकता बारे बहस शुरु भएको छ । मकवानपुर जिल्लामा ३६.६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् भने १३८ विद्यालय मध्ये १६ विद्यालयका कुनै पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएनन् । हेटौँडा उपमहानगरपालिकामा उत्तीर्ण प्रतिशत ५४ छ भने २ वटा विद्यालय (निजि–१ र सामुदायिक–१) को नतिजा शून्य छ । मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहमा एसईई उत्तीर्ण प्रतिशत निम्न अनुसार रहेको छ, थाहा नगरपालिका २७.५ प्रतिशत, बकैया गाउँपालिका १२.९ प्रतिशत, कैलाश गाउँपालिका ५.५ प्रतिशत, बागमती गाउँपालिका ८ प्रतिशत, मनहरी गाउँपालिका २३.९ प्रतिशत, राक्सिराङ गाउँपालिका ९.८ प्रतिशत, मकवानपुरगढी गाउँपालिका १५.३ प्रतिशत, भीमफेदी गाउँपालिका ९.८ प्रतिशत, इन्द्रर्सरोवर गाउँपालिका १६.७ प्रतिशत ।

हेटौँडा उपमहानगरपालिका बाहेक मकवानपुरका ९ वटा स्थानीय तहको औसत उत्तीर्ण प्रतिशत १४.४ रहेको छ । शिक्षामा राज्यको लगानी विशेषगरी सरकारी विद्यालयमा निजीको तुलनामा बढी भए पनि (सरकारी शिक्षकको तलब, सुविधा निजि भन्दा बढी रहेको) एसईईमा उत्तीर्ण प्रतिशत कम हुनु विडम्वना हो । समग्रमा विद्यालय शैक्षिक सुधारका लागि निम्न लिखित उपायहरु प्रभावकारी हुन सक्छन ।

१. प्रधानाध्यापकको सक्रियताः प्रधानाध्यापक विद्यालयको शैक्षिक र प्रशासन दुवै क्षेत्र हेर्ने र व्यवस्थापन गर्ने महत्वपूर्ण व्यक्ति हो । प्रधानाध्यापकको सक्रियताले शैक्षिकस्तर अभिवृद्धिका लागि ठूलो भूमिका खेल्छ ।

२. शिक्षकको अध्यापनः शिक्षकले विद्यार्थीलाई पढाउने मात्र नभई आफ्नो विषयमा कम्जोर विद्यार्थीलाई अतिरिक्त समय दिएर तथा पठन पाठनका नयाँ तरिकाहरु अपनाई पढाउन सके विद्यार्थीको सिकाई प्रभावकारी हुन्छ ।

३. व्यवस्थापन समितिः विद्यालय व्यवस्थापन समिति सक्रिय भएमा विभिन्न विषय शिक्षकको कमि, शिक्षक वा विद्यार्थी कक्षाकोठामा कम उपस्थित हुनु वा अन्य कारणले शैक्षिकस्तर कमजोर हुन गएको अवस्थामा उपयुक्त र समय सापेक्ष कदम चाल्न सक्छ । विद्यालयको शैक्षिक अवस्था बारे यसले निरन्तर निगरानी गर्नुपर्ने हुन्छ ।

४. अभिभावकको सक्रियताः आफ्ना बालबालिकाहरुको विद्यालयमा शैक्षिक गतिविधि मात्रै नभई घरमा हुँदा पनि कति समय कक्षाको होमवर्कमा र कति समय अन्य गतिविधि दिन्छन् भन्ने अनुगमन कार्य अभिभावकको काँधमा पर्छ । अभिभावकको अनुगमनले शैक्षिक सुधारमा सकारात्मक प्रभाव पर्छ ।

५. स्थानीय सरकारको सक्रियताः विद्यालय शिक्षाको दायित्व स्थानीय सरकारमा रहेकोले स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय सरकारले आफ्नो मातहतका विद्यालयको निरन्तर अनुगमन, निरीक्षण गर्ने परिपाटी बसाले विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने निश्चित छ । यसका साथै विद्यालयमा पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको उपलब्धता, सिकाईका नयाँ तरिकाहरु, विषय शिक्षकको उपलब्धता, विद्यार्थीको पारिवारिक र आर्थिक स्थिति महत्वपूर्ण हुन्छ । सिकाइको महत्वपूर्ण तर ओझेलमा परेको पाटो आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई आफ्नो मातृभाषामा सिकाइको व्यवस्था हुनु हो । यी सबै कुराहरुले शिक्षा क्षेत्र सुधारलाई प्रभावित पार्दछ । प्राथमिक तहदेखि नै सिकाइमा सुधार ल्याउन सकियो भने माथिल्लो तहमा सुधार हुँदै जान्छ । प्राथमिक तहमा मातृभाषामा अध्यापन गराउने विषयलाई स्थानीय सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्ने हो भने विद्यार्थीको सिकाइमा ठूलो उपलब्धि हुने निश्चित छ ।