बागमती प्रदेशको प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा

हेटौँडाः बागमती प्रदेशको प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा नियुक्त हुनुभएको छ । सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई बागमतीको प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।

संघीय सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख यादवचन्द्र शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने हुनुभएको छ । २०७८ भदौ ३ मा बागमतीको प्रदेश प्रमुख नियुक्त हुनुभएका शर्मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट मानिनु हुन्छ । बैठकले देवकोटासहित लुम्बिनी र कर्णाली प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भागबण्डाका आधारमा एमाले र कांग्रेसबाट प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । कर्णाली र लुम्बिनीमा कांग्रेसले प्रदेश प्रमुख पठाएको छ भने बागमतीमा नियुक्त भएका देवकोटा एमाले निकट हुनुहुन्छ ।

सुदुरपश्चिम प्रदेशको कैलालीको धनगढीका देवकोटा शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो । सहकारी अभियन्ता समेत रहनुभएका उहाँ एमाले अनुशासन आयोगको सदस्य समेत हुनुहुन्थ्यो ।