सडकमा गुड्ने सवारी दुर्घटनाका समाचार नेपालीका लागि सामान्य भइरहेको छ । दिनहुँ सवारी साधन दुर्घटनाबाट मानिसको मृत्यु भएको समाचार सुनिरहेका कारण यस्ता समाचार सामान्य बन्ने गरेको हो । दुई साताअघि करिब ६० जना यात्रुसहित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालको पहिरोमा परेर त्रिशूलीमा खसेर बेपत्ता भएको बस अझै फेला नपर्दा पनि त्यति चासो र चिन्ता दिइएको छैन । तर, बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमै भएको हवाई दुर्घटनाको समाचार असामान्य बन्यो । मुलुककै सबैभन्दा ठूलो र सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको हवाइजहाज दुर्घटनाले धेरैलाई दुःखी र चिन्तित बनायो भने एक प्रकारको खैलाबैला नै भयो । काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलटलाई घाइते अवस्थामा उद्धार गरेर उपचार भइरहेको छ ।
धेरै नेपालीको पहुँचमा रहेको सडक यातायात हो । सडकमा गुड्ने सवारी साधन दैनिक एक सयको संख्यामा दुर्घटना हुने गरेका छन् । सवारी दुर्घटनाबाट औसतमा दैनिक ७ जनाभन्दा बढीको ज्यान गइरहेको छ । तर, सडकमा हुने सवारी दुर्घटनालाई सरकारले गम्भीर रुपमा लिने गरेको छैन । यसको सट्टा वर्षमा एक–दुई पटक हुने हवाई दुर्घटनामा भने सरकारी चासो र चिन्ता बढी नै देखिने गरेको छ । बुधबारको हवाई दुर्घटनापछि प्रधानमन्त्री स्वयम् दुर्घटनास्थल र घाइते पाइलटलाई भेट्न अस्पताल पुगे । दुर्घटना छानविनका लागि ५ सदस्यीय आयोग बनाइयो । त्यतिमात्र नभई दुर्घटनाबाट मृत्यु भएकाको शोकमा बिहीबार आधा झण्डा झुकाउने निर्णय सरकारले गर्यो। तर, दुईवटा बस एकै पटक ६० जनाभन्दा बढी यात्रुसहित त्रिशूलीमा खसेर बेपत्ता हुँदासमेत सरकारले कुनै शोक मनाउन आवश्यक ठानेन । यसले पनि सरकारले हवाई दुर्घटनालाई बढी चासो र महत्व दिने गरेको स्पष्ट हुन्छ ।
नेपालमा ठूला–साना हवाई दुर्घटना भइरहेका कारण नेपाली आकाश सुरक्षित नरहेको देखिन्छ । बुधबारको दुर्घटनाले फेरि एकपटक हवाई सुरक्षाको बारेमा चर्चा सुरु भएको छ । बुधबारको दुर्घटना अन्य दुर्घटनाभन्दा फरक देखिएको छ । दुर्घटना भएको हवाइजहाज सी–चेक (पूर्ण परीक्षण)का लागि पोखरा लगिँदै थियो । निश्चित अवधि उडान गरेपछि गरिने यस्तो परीक्षणमा लैजान लागेको जहाजमा त्यति धेरै मानिस किन चढे भन्ने गम्भीर प्रश्न उब्जेको छ । यस्तो जहाजमा चालक दलका सदस्य र ३–४ जना प्राविधिक कर्मचारीमात्र रहनुपर्नेमा गैरकर्मचारी र बालकसमेत रहेको पाइएको छ । यसले विमान कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणको चरम लापरबाही देखिएको छ । विमानस्थल परिसरमै भएको दुर्घटना भई आगो लागेको जहाजको आगो निभाउन धेरै समय लागेको भन्दै आलोचनासमेत भइरहेको छ ।
हरेक पटकको हवाई दुर्घटनामा सरकारले छानविन समिति बनाउँछ । समितिले छानविन गरेर प्रतिवेदन पनि दिन्छ । तर, सरकारले त्यस्ता अधिकांश प्रतिवेदन कार्यान्वयन त के सार्वजनिकसमेत गर्दैन । अन्तर्राष्ट्रिय जगतलाई देखाउनकै लागि औपचारिकता प्रदान गरेर छानविन समिति बनाउँदैमा नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सकिँदैन । समितिले दिएको प्रतिवेदनका सुझावलाई सरकारले लागू गर्नुपर्छ । जसले भविष्यमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्न सक्छ । अधिकांश दुर्घटनाको कारण मानवीय त्रुटी, जहाजमा आउने प्राविधिक समस्या र खराब मौसम हुने गरेका छन् । बुधबारको दुर्घटनाको छानविनका लागि गठन भएको समितिले अवश्य पनि दुर्घटनाको कारणसहित प्रतिवेदन बुझाउने नै छ । तर, त्यो प्रतिवेदन पनि एउटा कर्मकाण्डी प्रक्रियामात्र नबनोस् । हवाई दुर्घटनालगत्तै सरकारले देखाउने चासो र चिन्ता अन्य समयमा पनि हवाई सेवाको नियमनमा देखियोस् । हवाई सुरक्षाजस्तो संवेदनशील विषयमा सरकारले परिणाममुखी काम गरेर नेपाली आकाश सुरक्षित रहेको विश्वास दिलाउन सकोस् ।