हेटौंडाः संघीय सरकारकोे अनुदानबाट हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजा वितरण गर्दै आइरहेका छन् । विद्यालयमार्फत् प्रदान गरिएको दिवा खाजाका कारण विद्यार्थी तथा अभिभावकहरुलाई सहज बनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा एकदेखि कक्षा ५ सम्म अध्ययन गर्ने ७ सय ६० जना विद्यार्थीलाई दिवा खाजा प्रदान गर्दै आएको छ । विद्यालयले विद्यार्थीहरुलाई तालिकाअनुसार स्वस्थ्य खानेकुरा वितरण गर्ने गरेको विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीहरुलाई हलुवा, खिर, चनाआलु, भुटेको चिउरा, समोसा र जेरी पुरी खान दिने गरेको छ । गत आर्थिक वर्ष संघीय सरकारले विद्यालयलाई हेटौंडा उपमहानगरपालिकामार्फत् २१ लाख ८८ हजार र ८ सय रुपैयाँ अनुदान दिएको प्रधानाध्यापक गुरागाईले बताउनुभयो ।

दिवा खाजाका कारण विद्यालयमा सकारात्मक प्रभाव परेको छ । विद्यालयले दिवा खाजा प्रदान गरेदेखि विद्यार्थीहरुको विद्यालयमा उपस्थिति बढेको प्रधानाध्यापक गुरागाईले बताउनुभयो । विद्यार्थीको हाजिरी बढेसँगै विद्यार्थीको संख्यासमेत बढेको उहाँको भनाइ छ । कक्षा १२ सम्म पढाइ हुने आधुनिक माविमा करिब २ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।

यस्तै, हेटौंडा उपमहानगरपालिका–४ कै भूटनदेवी माध्यमिक विद्यालयले नर्सरी कक्षादेखि ५ कक्षासम्मका ४ सय ७५ जना विद्यार्थीलाई दिवा खाजा दिँदै आएको छ । विद्यालयले विद्यार्थीहरुलाई खिर, हलुवा पाउरोटी, चिउरा तरकारी, समोसा, पास्ता तथा फलफुल प्रदान गर्दछ । विद्यालयले अनुगमन गर्नका लागि ९ जना अभिभावकलाई खाजा व्यवस्थापन समिति सदस्यमा चयन गरेको छ । यस्तै, ६ जना शिक्षकलाई दिनअनुसारको जिम्मेवारी दिने गरेको विद्यालयका प्राथमिक तहको संयोजक शिक्षक पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो । गतवर्ष हेटौंडा उपमहानगरपालिकाले विद्यालयलाई ८ लाख २२ हजार ५ सय ४२ रुपैयाँ अनुदान दिएको छ ।

विद्यालयले प्रदान गरिरहेको दिवा खाजाका कारण विद्यार्थीको विद्यालय आउने क्रम बढेको छ । धेरै विद्यार्थीको स्वास्थ्य राम्रो भएको बताउँदै आर्थिक स्थिति कमजोर भएका आभिभावकको तनाब घटेको विद्यालयका प्रधानाध्यापकले बताउनुभयो । विद्यार्थीहरु भोकै बस्ने तथा बाहिरको खाजा खाने क्रम बन्द भएको छ । विद्यार्थीहरु खाजाको अपेक्षाले पनि विद्यालय आउने गरेको आचार्यले बताउनुभयो । भूटनदेवी माविमा २ हजार ३ सय जना विद्यार्थी अध्ययनरत छन् ।