मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालको पहिरोमा परी शुक्रबार बिहान ३ बजेतिर दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको समाचारले धेरैलाई झस्कायो । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट गौर जाँदै गरेको दुईवटा दुईवटा बसमा करिब ६० जना यात्रु भएको अनुमान छ । बसमा रहेका ३ जना यात्रु पौडिएर बाहिर निस्कन सफल भए पनि अन्य बेपत्ता छन् । दुर्घटनामा परेको बस अझै फेला परेको छैन भने बसका यात्रुहरुको शव नारायणी नदीको विभिन्न क्षेत्रमा फेला परिरहेका छन् । शुक्रबार राति हेटौंडा–६, पुतलीबजारमा मदन भण्डारी लोकमार्गको छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर हेटौंडाबाट हर्नामाडी जाँदै गरेका २ वटा मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

यी दुई घटना नेपालमा हुने सवारी दुर्घटनाका प्रतिनिधि उदाहरणमात्र हुन् । नेपालमा सवारी साधनको प्राविधिक अवस्था, सवारी चालकको लापरबाही र सडकको अवस्थाका कारण अधिकांश सवारी दुर्घटना हुने गरेका छन् । पहिरोमा परेर त्रिशूली नदीमा बस खस्नुमा सडकको अवस्था र चालकको लापरबाहीलाई मान्न सकिन्छ । वर्षाको समयमा पानी परेर पहिरो आएको ठाउँमा रातिको समयमा पहिरो पन्छाएर सवारी सञ्चालन गराउने प्रहरी, प्रशासन र सडक डिभिजन कार्यालय पनि उक्त बस दुर्घटनामा जिम्मेवार देखिन्छन् । व्यस्त राजमार्गमा पहिरो गएको क्षेत्रको भौगोलिक अवस्था मूल्यांकन नगरी पानी परिरहेको समयमा रातारात पहिरो पन्छाएर सवारी सञ्चालन गराउँदा पुनः पहिरो आउनसक्ने जोखिमलाई प्रहरी, प्रशासन, सडक डिभिजन, बसका चालक, यात्रु सबै पक्षले बेवास्ता गर्दा सिमलताल बस दुर्घटना हुन पुगेको स्पष्ट छ । सवारी चालक र यात्रुले गर्ने हतारका कारण यस्ता धेरै दुर्घटना हुने गरेको पाइन्छ । ज्यानभन्दा ठूलो काम होइन भन्ने मानसिकता नबनेसम्म लापरबाही र हतारकै कारण दुर्घटना हुने क्रम रोकिने छैन ।

हेटौंडा–६ मा भएको मोटरसाइकल दुर्घटनामा भने सडक किनारमा असरल्ल छाडिएका निर्माण सामग्री मुख्य कारण देखिएको छ । डिभिजन सडक कार्यालय हे टौं डाले असारको अन्तिमतिर हतारहतार कामको जिम्मेवारी दिँदा निर्माण व्यवसायीले सडक किनारमै थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको थियो । रातिको समयमा तिब्र गतिमा सवारी साधन चलाउँदा सडक किनारमा रहेका यस्ता सामग्री टाढैबाट नदेखिँदा दुर्घटनाको जोखिम बढी हुने गर्दछ । सार्वजनिक तथा निजी निर्माणका लागि सडक छेउमा निर्माण सामग्री राख्दा सवारी दुर्घटनामात्र नभई सवारी आवागमन तथा यात्रुलाई हिँड्नसमेत समस्या हुने गर्दछ । राजमार्गमा मात्र नभई हेटौंडा बजार क्षेत्रका विभिन्न सडक किनारमा पनि निर्माण सामग्री थुपार्दा सवारी साधन दुर्घटनाको जोखिम हुने गरेको छ ।

सडकलाई सुरक्षित बनाउन राज्यका जिम्मेवार निकायमात्र नभई सवारी चालक, व्यवसायी, यात्रु र अन्य सर्वसाधारणले समेत पर्याप्त ध्यान दिन सकेका छैनन् । सडक किनारमा निर्माण सामग्री थुपार्नेमात्र होइन, सवारी साधन नै रोकेर राख्ने, कृषि उत्पादनहरु सुकाउने र थुपार्ने, पशु चौपाया बाँध्ने वा जथाभावी छाड्ने, सडक सीमाभित्र संरचना निर्माण गर्ने कार्यले सडकलाई असुरक्षित बनाइरहेको छ । सवारी दुर्घटनाका कारण धेरै जनधनको क्षति भइरहेकाले सडक सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ । विशेषगरी सडक पेटी, नाला तथा अन्य सार्वजनिक निर्माण कार्य गर्दा र सडकको दायाँबायाँ व्यक्तिगत घर टहरा निर्माण गर्दा जथाभावी निर्माण सामग्री सडक किनारमा राख्दा सडक यात्रा जोखिमपूर्ण बनिरहेको हो । सडकको अवस्था जस्तोसुकै भए पनि सबै प्रकारका सवारी साधन सबै समयमा निर्वाध सञ्चालन गर्न दिने गरेका कारण पनि सवारी दुर्घटनाको जोखिम उच्च बनिरहेको छ । राज्यका जिम्मेवार निकायले दुर्घटनाका कारण बन्नसक्ने यस्ता कार्यमा प्रभावकारी नियमन गरेर सवारी चालकले पनि सचेत बन्दै सवारी साधन चलाउने हो भनेमात्र सडकलाई सुरक्षित बनाउन सकिन्छ ।