नेपालमा कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिन्छ । विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने भए पनि कक्षा १० को अन्त्यमा हुने माध्यमिकशिक्षा परीक्षा (एसईई)को चर्चा र चासो विगतको एसएलसीजस्तै छ । कक्षा ९–१२ माध्यमिक तह भए पनि अधिकांश माध्यमिक विद्यालयमा कक्षा १० सम्ममात्र पठनपाठन हुने गरेका कारण पनि एसईईप्रतिको चासो र चर्चा कम हुन नसकेको हो । शिक्षा ऐनको आठौं संशोधनले २०७२ सालसम्म एसएलसीको रुपमा सञ्चालित कक्षा १० को परीक्षालाई एसईईमा परिवर्तन गर्यो। ऐनमा कक्षा ८ मा पालिकास्तरमा आधारभूत तह उत्तीर्ण परीक्षा, कक्षा १० मा प्रदेश वा क्षेत्रीयस्तरमा एसईई परीक्षा र कक्षा १२ मा राष्ट्रियस्तरमा विद्यालय शिक्षा परीक्षा (विगतको एसएलसीजस्तो) सञ्चालन गर्ने व्यवस्था छ । तर, कक्षा १० र १२ को दुबै परीक्षा राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रियस्तरमै सञ्चालन गर्दै आएका कारण पनि एसईईको महत्व कायमै रहेको मान्न सकिन्छ ।
गत चैतमा सम्पन्न एसईईको नतिजा बिहीबार सार्वजनिक भएको छ । एसईई परीक्षा सुरु भएपछि मूल्यांकन विधिमा समेत परिवर्तन गरेर लेटर ग्रेडिङ पद्दतिको सुरुवात गरियो । यो पद्दतिले विद्यार्थीको नतिजामा फेल/पास उल्लेख नगर्ने र न्यूनतम १.६ जीपीए ल्याउने विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने व्यवस्था गरियो । साथै, विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक दुबैमा प्राप्त गे्रडलाई समायोजन गरेर अन्तिम ग्रेड गणना गरिँदा विद्यार्थी फेल हुने दर ह्वात्तै कम भयो । यसले परीक्षामा राम्रो गर्न नसकेका विद्यार्थीलाई पनि माथिल्लो कक्षा अध्ययनको अवसर सहज बनायो । साथै, विगतको एसएलसीमा जस्तो विद्यार्थी फेल÷पासको आधारमा विद्यालय तथा शिक्षकको मूल्यांकनसमेत हुन छाड्यो । परीक्षामा सहभागी सबैजसो विद्यार्थी ११ कक्षामा कुनै न कुनै विषय अध्ययन गर्न पाउने भएपछि विद्यार्थीमा पढ्ने बानि कम हुँदै गयो भने समग्र विद्यालयको नतिजा कस्तो रह्यो भन्ने कोणबाट अध्ययन/विश्लेषणसमेत हुन छाड्यो ।
एसईई परीक्षामा अपनाइएको लेटर ग्रेडिङ पद्दतिमा परिवर्तन गरेर यस वर्षबाट न्यूनतम अंक प्राप्त गर्न नसकेका विद्यार्थीको नतिजामा ‘एनजी’ उल्लेख गरेर फेल गरियो । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार देशभर २ लाख २२ हजार ४७२ जना (४७.८६ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । २ लाख ४२ हजार ३१३ जना अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेड (एनजी)मा परेका हुन् । परीक्षामा ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी थिए । यस वर्षबाट विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ (७५ पूर्णाङ्क) ३५ प्रतिशत र आन्तरिक मूल्यांकनतर्फ (२५ पूर्णाङ्क) ४० प्रतिशत अंक ल्याउनैपर्ने थियो । कुनै एक विषयमा पनि न्यूनतम प्रतिशत अंक ल्याउन नसकेका विद्यार्थी ग्रेडमा परेनन् वा फेल भए । विगतको एसएलसीमा विषयगत ३२ प्रतिशत अंक ल्याउने विद्यार्थी पास हुन्थे भने त्यतिबेला औसत उत्तीर्ण प्रतिशत अहिलेको जस्तै ५० को हाराहारीमा हुन्थ्यो ।
अहिलेको लेटर गे्रडिङ पद्दतिले विद्यार्थीको नतिजाको स्तर विगतको एसएलसीजस्तै बनाएको छ । बिचमा केही वर्ष सैद्धान्तिक र आन्तरिक मूल्यांकनतर्फ न्यूनतम ३० अंक कटाउने विद्यार्थीले निश्चित विषय लिएर कक्षा ११ पढ्न पाउने र २५ पूर्णाङ्कको आन्तरिक मूल्याङ्कनमा करिब पूर्णाङ्ककै हाराहारीमा अंक पाउँदा सहजै न्यूनतम ३० अंक कटाउने अवस्था अन्त्य भएसँगै विद्यार्थी फेल हुने दर फेरि बढेको हो । अघिल्ला केही वर्षको नतिजा यस वर्षको नतिजामा देखिएको भिन्नता विद्यार्थीको स्तरभन्दा पनि मूल्याङ्कन पद्दतिमा भएको परिवर्तनको उपज हो । बारम्बार मूल्याङ्कन प्रणाली परिवर्तन गर्दै जाँदा यसले विद्यार्थी, शिक्षक, अभिभावक र नीति निर्मातालाई समेत अन्यौल बनाउने निश्चित छ । मूल्याङ्कनको आधार नै सहज बनाएर विद्यार्थी फेल नगराइएको अवस्था अन्त्य भएर एनजी आउने विद्यार्थी फेल भएपछि अहिले धेरै विद्यालयको नतिजा कमजोर देखिएको हो । परीक्षा र मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक, स्तरीकृत र व्यवहारिक बनाएर एसईईको नतिजा विश्लेषण हुनुपर्छ ।