आँखाको मोतिविन्दुको शल्यक्रिया गर्ने ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ।

हेटौँडाः मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकामै मोतिबिन्दुका विरामीको आँखाको शल्यक्रिया गरिएको छ । बृहत आँखा शिविरमा पहिचान भएका ७० जना मोतिविन्दुका बिरामीको राक्सिराङ गाउँपालिका–५, चैनपुरस्थित प्रज्ञा जागृति माविमा शल्यक्रिया गरिएको हो ।

बुधबारदेखि पालिकाको वडाहरुमा सञ्चालन गरिएको आँखा शिविरमा पहिचान भएका ८५ जनामध्ये ७० जनाको आज आईतबार निःशुल्क शल्यक्रिया गरिएको हेटौँडा सामुदायिक आँखा अस्पतालका कार्यक्रम संयोजक सुशील कुमार सिंहले जानकारी दिनुभयो । सिंहकाअनुसार १५ जनामध्ये कोहि शल्यक्रिया गर्न आएका थिएनन् भने केहीको स्वास्थ्य समस्याका कारण शल्यक्रिया नगरिएको हो । पालिकाको ६ वटा वडामा भएको शिविरमा ५ सय ७८ जनाले आँखा जाँच गराएका थिए ।

मोतिविन्दु बाहेक अन्य सेवाग्राहिमा जलविन्दु, पर्दा र चस्माको समस्या देखिएको थियो । शिविरमा बिरामीहरुलाई आवश्यकता अनुसार निःशुल्क चस्मा र औषधी वितरण गरिएको सिंहले बताउनुभयो । शिविरको उद्घाटन गाउँपालिकाका प्रमुख राज कुमार मल्लले गर्नु भएको थियो । आँखा शिविर हेटौंडा सामुदायिक आँखा अस्पतालका १० जनाको टोलीले जाँच गरेका थिए । शिविरमा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । आइतबार शल्यक्रिया गरिएका बिरामीको सोमबार पर्दा हटाइने छ ।