हेटौँडाः विद्यालय शिक्षा परीक्षा (एसईई) मा आफ्नो विद्यार्थीले उत्कृष्ट नतीजा ल्याएको खुसियालीमा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले आइतबार हेटौँडामा र्याली निकालेको छ । बालजागृति स्कूलबाट एसईईमा सहभागी भई रितिका छत्कुलीले जीपीए ४ हासिल गर्नुभएको छ । मकवानपुर जिल्लाबाट एसईईमा जीपीए ४ ल्याउने रितिका एक्ली छात्रा हुन् ।
उत्कृष्ट नतीजा हासिल गरेको भन्दै विद्यालयले रितिकालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । यस्तै भाइस–प्रिन्सीपल एवम् अंग्रेजी विषय शिक्षक अमुल श्रेष्ठ र नेपाली विषय शिक्षक निर्मल घिमिरेले रितिकालाई १०÷१० हजार रुपैयाँ नगद दिनुभएको छ । रितिकासँगै एसईईमा सफल सबै विद्यार्थी र उनीहरुका अभिभावकलाई पनि सम्मान गरेर विद्यालयले खुसियाली र्याली निकालेको हो । बालजागृति स्कूलबाट २०८० सालको एसईईमा ७७ जना सहभागी भएकोमा ७६ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।
विद्यालय परिसरबाट सुरु भएको खुसियाली र्याली संगमचोक, कान्तिराजपथ, पारिजातपथ, स्कूलरोड, सीमाचोक, मेनरोड, बुद्धचोक, नगरपालिकारोड हुँदै पुनः विद्यालयमै पुगेर समापन गरिएको थियो । र्यालीमा विद्यालयका शिक्षक, सञ्चालक, विद्यार्थी, अभिभावकसहित महिलाहरुको पञ्चेबाजा टोली पनि सहभागी थियो ।