हेटौंडाः नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्च सिंहले अहिलेको शैक्षिक अवस्था परिवर्तन गर्न अगाडि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रबार अखिल क्रान्तिकारी मकवानपुरकोे २३ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिंहले अखिल क्रान्तिकारीले शैक्षिक परिवर्तनका लागि लड्नुपर्ने बताउनुभयो ।
अध्यक्ष सिंहले विशेषगरी गाउँगाउँबाट शैक्षिक परिवर्तनका लागि अघि बढ्न तयार हुनुपर्ने बताउनुभयो । शिक्षालाई निःशुल्क बनाउन अखिल क्रान्तिकारी लड्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले मुलुकमा निःशुल्क शिक्षा नभएसम्म अखिल क्रान्तिकारी लडिरहने पनि बताउनुभयो ।
देशमा राजतन्त्र हटाउन विद्यार्थी संगठनको ठूलो भूमिका रहेको भन्दै उहाँले अब शैक्षिक परिवर्तनका लागि पनि विद्यार्थी संगठन महत्वपूर्ण बन्नुपर्ने बताउनुभयो । उहाँले अबको शिक्षा प्रणालीलाई सीपमूलक बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले मुलुकमा सुशासन र वर्तमान व्यवस्थालाई कार्यान्वयन गर्न क्रान्तिकारीहरु गोलबन्द हुनुपर्ने बताउनुभयो । अखिल क्रान्तिकारीमा विचारको खोजी र नेतृत्व गर्ने क्षमता हुने भन्दै सबैलाई जोडेर अगाडि बढ्न सक्नुपर्ने उहाँले बताउनुभयो । उहाँले विचारमा बहस गरी शैक्षिक व्यथितिलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
संगठन मकवानपुरका अध्यक्ष श्रवणकुमार बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, प्रदेश सचिवालय सदस्यहरु ललित घलान, सर्केश घलान, जिल्ला समन्वय संयोजक भीम पाख्रिनलगायत विद्यार्थी संगठनका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।