भूमि तथा प्रशासन मन्त्रालयबाट सम्मानित भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले तीनवटा उद्योगलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमबीच नवप्रवर्तन उद्यमी सम्मानबाट मकवानपुरसहित अन्य जिल्लाको २ वटा उद्योगलाई सम्मान गरेको हो ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्य तथा मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीको सभाध्यक्षतामा सम्मान कार्यक्रम भएको हो । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमअनुसार नवप्रवर्तन उद्यमी सम्मान प्रदान गरिएको हो ।

ललितपुर जिल्लाको माउन्ट बी कन्सर्न प्रालि प्रथम, सिन्धुली जिल्लाको ढाका उद्योग द्वितीय र मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१५ स्थित श्याम बाटिका एकीकृत कृषि पशु पक्षी फारम तृतीय भई पुरस्कृत भएका हुन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ६० हजार रुपैयाँ, ५० हजार रुपैयाँ र ४० हजार रुपैयाँ नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको छ ।

सम्मानपछि पुरस्कृति उद्यमी सरिता भट्टराईले सबै उद्यमीको सफताको पछाडि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आफ्नो कठिन परिस्थतिलाई अंगालेर कृषि पेसाको माध्यमले आफू यहाँसम्म आइपुग्न सफल भएको उहाँले बताउनुभयो । सबै उद्यमी महिलाहरु पैसा भन्दा पनि आफूले सम्मान पाउने कामको पाटोटिर लाग्नुपर्ने उहाँले बताउनुभयो । विदेशमा गएर करोडौं पैसा कमाए पनि आफ्नो पहिचान नेपालमा बनाउन सक्नुपर्ने उहाँको भनाइ छ । अरुले बाहिरी मुलुकको सामग्रीहरुको उत्पादन गरेपनि आफूले स्वदेशी उत्पादन गरेको भन्दै उहाँले ६५ हजार रुपैयाँ लगानी गरेर मौरीको व्यवसाय सुरु गरेर यहाँसम्म आएको बताउनुभयो ।

उद्योग वाणिजय संघ बागमती प्रदेशका सदस्य उत्तम शर्मा ढकालले नीतिगतरुपमा उद्योगहरुको स्थापना गरेर युवा पिँढीलाई विदेशिनबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीलाई प्रवद्र्धन गर्नका लागि स्थानीयस्तरको सामग्रीहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । विदेशबाट आउने सामग्रीहरुलाई न्यूनीकरण गर्दै स्वेदेशमै उत्पादन हुने वातावरणको सिर्जना गर्नुपर्ने औंल्याउनुभयो । पछिल्लो समयमा नेपालमा सामग्रीको अभाव भएका कारण बाहिरी मुलुकबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठले अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा कृषि र उद्योग क्षेत्रहरु धेरै भएको बताउनुभयो । सबै ठाउँका मानिसहरुले भूगोललाई अध्ययन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटले नीतिगतरुपमा उद्योग र व्यवसाय सञ्चालन गर्नका लागि सहज वातारण निर्माण हुने उहाँको भनाइ छ ।

कृषि पेसामा रुचि भएको तर जग्गा जमिन नभएको मानिसहरुलाई जग्गा उपलब्ध गराउन पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो । कृषिलाई उद्योग क्षेत्रमा ल्याउन आवश्यक रहेको बताउनुहुँदै कृषिलाई उद्योगमा ल्याउन सके राजस्व संकलन हुने र जनताहरुले रोजगारीको अवसर पाउने उहाँको धारणा छ । ऐन निमावलीको निर्माण नहुँदा उद्योग र वाणिज्य क्षेत्रमा व्यवसाय सुधारका लागि काम गर्न नसकेको उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा महाशाखा प्रमुख महेशराज पौडेल र मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईंको पनि उपस्थिति रहेको थियो ।