हेटौँडाः बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले संसदमा पेश गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको हो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले निर्णायार्थ पेश गर्नुभएको प्रदेश सरकारको आर्थिक सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभाको बैठकले बहुमतसहित पारित गरेको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यहरुको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको छ । बजेटमा नेपाली कांग्रेस ३७, राप्रपाका १३ र नेकपाका ३ सहित ५३ सांसदहरु विपक्षमा रहेका थिए भने सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ५६ जना सांसदहरु बजेटको पक्षमा रहेका थिए ।
प्रदेशसभाको बैठकले ९ जना सांसदहरुले राखेको खर्च कटौतिको प्रस्ताव अस्वीकृत गर्दै बजेट पारित गरिएको हो । बैठकमा कांग्रेस सांसद प्रभात तामाङ, कृष्ण कुमार तामाङ, छिरिङ दोर्जे लामा, रामकृष्ण चित्रकार, रमेश कुमार महत, श्रीराम लामिछाने, पुकार महर्जन, नेमकीपाका सांसद सुरेन्द्रराज गोसाईं, सृजना सायजुले खर्च कटौतिको प्रस्ताव राखेका थिए । प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँ बजेट ल्याएको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको थियो ।
कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।