लागूऔषध कारोबार र दुव्र्यसनको समस्या विश्वव्यापी छ । लागूऔषध र यसको दुव्र्यसनीको समस्या सबै देशको साझा बनिरहेको छ । लागूऔषध कारोबार र दुव्र्यसनीमा संलग्न हुनेमा किशोरकिशोरी र युवायुवतीको बाहुल्यता रहेको पाइन्छ । लागूऔषधको बढ्दो कारोबारले धेरै युवाहरुले आफ्नो अमूल्य जीवन बर्बाद गरेका छन् । ठूलो धनराशिको क्षति भइरहेको छ । पारिवारिक विचलन बढिरहेको छ । कयौं अभिभावकको सपना तुहिएको छ । तर, लागूऔषधको कारोबार तथा दुव्र्यसनीको समस्या कम हुन सकेको छैन । लागूऔषध विश्वव्यापी समस्या बनेकै कारण करिब ४ दशक अघिबाट लागूऔषध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको छ । विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउन संयुक्त राष्ट्रसंघले सन् १९८७ मा घोषणापत्र जारी गर्दै हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।
बुधबार लागूऔषध तथा अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिवसको अवसरमा एक कार्यक्रम आयोजना ग¥यो । उक्त कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले खुला सिमानाका कारण लागूऔषध दुव्यर्सनी बढेको बताए । नेपाल–भारतबिचको खुला सीमाका कारण लागूपदार्थको ओसारपसार बढिरहेको मन्त्री श्रेष्ठले दावी गर्नुभयो । उनले लागूऔषध दुव्र्यसनीलाई न्यूनीकरण गर्न घरपरिवारकै सदस्यहरु जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । सबै मिलेर यसको न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले लागूऔषध मानिँदै आएको गाँजालाई औषधीको रुपमा प्रयोग गर्नुपर्ने समेत बताए । कानुनीरुपमा नियमन गरेर गाँजालाई औषधीको रुपमा प्रयोग गनुपर्नेमा उनको जाड थियो । लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न विद्यालयस्तरबाट नै सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उनले औँल्याए ।
मन्त्री श्रेष्ठले भनेजस्तै नेपाल–भारतबिच रहेको खुला सीमा लागूपदार्थ ओसारपसारका लागि सहयोगी बनिरहेको पक्कै हो । नेपालबाट गाँजा, चरेस, अफिम भारत जाने र भारतबाट सेतो÷खैरो हेरोइनका साथै त्यहाँ औषधीको मापदण्डमा परेका तर नेपालमा लागूऔषध दुव्यर्सनीहरुले प्रयोग गर्ने नुर्फिन, डाइजेपाम, लुप्रिजेसिक, फेनारगन, कोरेक्सजस्ता सुई र सिरप अत्यधिक मात्रामा भित्रिने गरेको छ । मकवानपुर तथा धादिङ जिल्लाका दुर्गम क्षेत्रमा उत्पादन हुने गाँजा तथा अफिम हेटौंडा हुँदै भारत लैजाने र वीरगञ्ज नाकाबाट नेपाल भित्रने लागूऔषधहरु हेटौंडा हुँदै राजधानी काठमाडौं तथा देशका अन्य भागमा जाने हुँदा हेटौंडा लागूऔषध कारोबारको ‘ट्रान्जिट’जस्तै बनिरहेको छ । मकवानपुर प्रहरीले दिनहुँजस्तो लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्दै आइरहेको अवस्थाले पनि यसलाई पुष्टि गर्दछ ।
विश्वकै दुई ठूला अर्थतन्त्र र अत्यधिक जनसंख्या भएका भारत र चीनसँग नेपालको खुला सीमा भएकै कारण नेपाल लागूऔषध ओसारपसारको ट्रान्जिट बन्ने गरेको छ । लागूऔषधको समस्यालाई निकै जटिल मान्दै रोकथामका लागि अन्तर्राष्ट्रिय जगतमा नेपालले पनि प्रतिबद्धता जाहेर गर्दै आएको छ । सोही बमोजिम सरकारले लागूऔषध नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था गर्दै प्रहरी परिचालन गरेर यसको कारोबार तथा दुव्र्यसन न्यूनीकरणको प्रयास गरिरहेको छ । दिनहुँ लागूऔषधसहित मानिस पक्राउ परेको समाचारले भने सरकारको प्रयासलाई निरर्थक बनाइरहेको छ । लागूऔषध नियन्त्रणका लागि प्रहरीले केही सक्रियता देखाउने गरेको भए पनि यसलेमात्र सम्भव छैन । लागूऔषध उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवन सबै चरणमा नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक छ । साथै, भारतसँगको सीमा नाकामा कडाइ यसको आयात–निर्यात रोकेर लागूऔषधको समस्या न्यूनीकरण गर्नु उचित हुनेछ ।