भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल

हेटौंडाः बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल ‘शरद’ले प्रदेश सडक गुरु योजना प्रदेशको आवश्यकता अनुसार कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । उहाँले प्रदेश सडक गुरु योजनामा बजेटको ठुलो हिस्सा समावेश गरिएको बताउनुभयो ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट माथि उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री दुलालले गुरुयोजना अनुुसार २० प्रदेश लोक मार्ग र २ सय ३० प्रदेश मार्ग समावेश गरिएको बताउनुभयो । उहाँको अनुसार गुरुयोजना अन्तर्गतमध्ये १६ वटा प्रदेश लोक मार्ग र १ सय ३४ वटा योजनाहरुमा १० अर्व रुपैयाँ बजेट समावेश गरिएको छ ।

‘प्रदेश सरकारले ठुला आयोजनामा बढी बजेट विनियोजन गरेको छ । प्रदेश सडक गुरुयोजना बाहेक ४ सय ७ वटा सडक आयोजनाहरु ५० लाख रुपैयाँ भन्दा बढीको रहेको छ । जसमा १५ अर्व ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले सडक पूर्वाधारलाई विकासको लयमा पु¥याउने गरी गुरु योजना कार्यान्वयनमा ल्याइएको छ । प्रदेश सडक गुरुयोजना अन्तर्गत रहेको सडक आयोजनामा ६ हजार ३ सय ४३ किलोमिटर लम्बाइ मध्ये १ हजार किलोमिटर पक्की रहेको छ । क्रमिक रुपमा उक्त सडकलाई पक्की बनाउने काम भइरहेको छ ।’

प्रदेश सरकारले दिगो विकासलाई लक्षित गरेर योजनाहरु बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सडक पूर्वाधारको कामलाई सहजता प्रदान गर्न जिल्लागत रुपमा पूर्वाधार विकास कार्यालयहरु स्थापना गरिएको बताउनुभयो । मकवानपुर राजधानीको जिल्ला भएकाले बढी बजेट प्रवाह हुनु स्वभाविक रहेको उहाँले बताउनुभयो । बहुवर्षे आयोजनाले विकासको प्रतिफल प्राप्त गर्न सकिने उहाँको भनाई छ ।

प्रदेश सरकारको प्रशासनिक भवन निर्माणको कामका लागि बजेट विनियोजन गरिएको मन्त्री दुलालले बताउनुभयो । जग्गा प्राप्तीको अन्तिम चरणमा रहेकाले छिट्टै नै काम संचालन गर्नेगरी सरकार अघि बढेको उहाँको भनाई छ ।