हेटौँडाः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । लोकतन्त्र बलियो भए सञ्चार क्षेत्र सशक्त बन्न सक्ने उहाँले बताउनुभयो ।
हेटौँडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजनामा सेवा प्रवाह तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले प्रेसले सार्वजनिक सेवा प्रवाह र सुशासनको विषयलाई प्रभावकारी बनाउन तथा नागरिकहरु माझ पु¥याउन भुमिका खेल्नुपर्ने बताउनुभयो । राज्य संस्थाका व्यक्तिहरुको गलत धारणाका कारण प्रेसलाई आतंकका रुपमा लिने गरेको उहाँको भनाई छ ।
‘लोकतन्त्र र संचार माध्यम एक अर्काका परिपूरक हुन् । लोकतन्त्र बलियो बनाउन संचारको महत्वपूर्ण भूमिका रहन्छ । लोकतन्त्र बलियो भयो भने संचार संस्था बलियो हुन्छ । राज्य र सरोकारवाला पक्षको भूमिका जिम्मेवारीपूर्वक लोकतन्त्र र पत्रकारिता क्षेत्रलाई बलियो बनाउने तर्फ हुनुपर्छ ।’, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘पछिल्लो समय मिसन पत्रकारिताका नाममा सामान्य मुल्य मान्यता र पत्रकारिताको आचारसंहिता विपरितका काम भइरहेको छ । पत्रकारहरुले कसैको प्रभावमा आएर काम गर्नु हुँदैन । जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकता हो ।’
उहाँका अनुुसार प्रदेश सरकारको संस्थागत स्थायित्व हुन सकेको छैन । सेवा प्रवाह र सुशासनको प्राथमिकता भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता रहेको उहाँको भनाई छ । प्रदेश सरकारले नीतिगत रुपमा व्यवस्था गर्दै गुड गभर्नेन्सका लागि तयारी गरिरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले सेवा प्रवाहलाई गुनासोरहित र कमजोरी हुन नदिन जिल्लास्तरमा संरचना विकास गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । सरकारले प्रदेशको संस्थागत स्थायित्वका लागि भौतिक पूर्वाधारसँगै ऐन, कानुन निर्माण, परिमार्जन, सेवा प्रवाहको प्रभावकारिता र परिणाममुखी कार्यक्रम कार्यान्वयनमा सरकार केन्द्रीत भएको उहाँको भनाई थियो ।
‘प्रदेश सरकार नयाँ संरचना हो । संघीयतापछि निर्माण भएका तीन तहका सरकारको बाध्यता र सिमाहरु रहेका छन् । प्रदेश सरकारसँग पर्याप्त संरचना र मानव संशाधनमा कमजोर रहेको छ । त्यसका बावजुद पनि प्रदेश सरकार सेवाप्रवाह र सुशासन कायम गर्न प्रयत्नरत रहेको छ । प्रदेश सरकारले संघीयत कार्यान्वयनको ७ बर्षको अवधिमा संरचनागत सुधार र संस्थागत विकासमा काम गरिरहेको छ । हाम्रो काम भौतिक विकासमा केन्द्रीत भएको जस्तो देखिए पनि सेवा, प्रशासन, सुशासन लगायतका क्षेत्रमा पनि काम भएका छन्’, उहाँले भन्नुभयो ।
कार्यक्रममा मन्त्रालयकी कानुन महाशाखा प्रमुख उपसचिव मनुका घिमिरेले कानुन निर्माणको प्रक्रियाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले प्रदेश सरकार र संसदको कानुन निर्माणको प्रक्रिया, प्रदेश सरकारले निर्माण गरेका कानुन, कानुन निर्माणका समस्या र चुनौति तथा संचारकर्मीले खेल्नुपर्ने भूमिकाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा संचारकर्मी तथा मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सुरेश श्रेष्ठले सेवा प्रवाह र सुशासनमा संचारकर्मीको भूमिकाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले संचार माध्यम र संचारकर्मीहरुको अवस्था, राज्यको सेवा प्रवाहमा प्रशासनको स्थितिका विषयमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले राज्यका संरचनाहरु सेवा प्रवाहमा जवाफदेही तथा पारदर्शी हुनुपर्ने, पत्रकारहरुले सेवा प्रवाहको अवस्थाको वास्तविक चित्र नागरिकहरु माझ सार्वजनिक गर्नुपर्ने, आचारसंहितामा रहेर सरकार तथा सार्वजनिक सेवा प्रवाह कर्तालाई निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले सञ्चार क्षेत्रले नागरिकको आवाज बोलिदिनुपर्ने, चौथो अंगको रुपमा राज्यका व्यवस्थापिका र कार्यपालिकाको पहरेदारी गर्नुपर्ने बताउनुभयो ।