वडा भवन शिलान्यास गर्नुहुँदै नगरपालिका प्रमुख मिना कुमारी लामा

हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालय भवन शिलान्यास भएको छ । बिहीबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले भवन शिलान्यास गर्नु भएको वडा अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।

हाल २० लाखको बजेटमा भवन निर्माण कार्य सुरु गरिएको छ । हेटौँडा-५ राईटोलामा तीन तल्ले भवन निर्माण हुने भएको छ । बाँकी थप कार्यका लागि बजेट प्राप्त भइसकेको र निरन्तर निर्माण हुँदै जाने वडा अध्यक्ष घिमिरेले बताउनुभयो । भवनको जग निर्माण कार्य यहि असार २० गतेसम्म सकिने छ । बाँकी कार्य निरन्तर बजेट थप भए बमोजिम हुँदै जानेछ । हेटौँडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये अझै पनि २, ५, ११ र १६ र नम्बरका वडाहरु भाडाको घरमा छन् । वडाको अफ्नो भवन नहुँदा सेवाग्राहीलाई पनि समस्या हुने गरेको छ ।

शिलान्यास कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम राजनीतिक दलका प्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।