हेटौंडाः हेटौंडा अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि जेठ महिनासम्म २ सय ८६ जना हिंसापीडितलाई सेवा प्रदान गरेको छ । केन्द्रले विभिन्न प्रकारका हिंसाबाट पीडित महिला, पुरुष तथा अल्पसङ्ख्यकलाई हिंसाबाट मुक्त बनाउँदै आएको छ ।

व्यवस्थापन केन्द्रको तथ्याङ्कअनुसार साउन महिनामा १० जना जबरजस्ती करणीको समस्या लिएर आएका थिए । २ जना यौनजन्य हिंसा, ६ जना शारीरिक हिंसा, ३ जना जबरजस्ती विवाह, १ जना घरेलु हिंसा र १३ जना अन्य समस्याले आएका केन्द्रकी इन्चार्ज अमृता श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, भदौ महिनामा जबरजस्ती करणीका ११ जना, यौनजन्य हिंसा सम्बन्धी ३ जना, शारीरिक हिंसासम्बन्धी ४ जना, घरेलु हिंसाका ४ जना र १२ जना अन्य समस्याका पीडितले केन्द्रबाट सेवा लिएका छन् ।

असोज महिनामा ५ जना जबरजस्ती करणी, २ जना शारीरिक हिंसा, १ जना जबरजस्ती विवाह, २ जना घरेलु हिंसा पीडित र ८ जना अन्य समस्या लिएर आएका थिए । कार्तिक महिनामा ८ जना जबरजस्ती करणी र १ जना यौनजन्य हिंसा पीडित भई एकद्वार संकट व्यवस्थापन केन्द्रमा सेवा लिन आएका केन्द्रको तथ्याङ्क छ । केन्द्रको तथ्याङ्कअनुसार मंसिर महिनामा जबरजस्ती करणीका ७ वटा, यौनजन्य, शरीरिक र जबरजस्ती विवाहको घटनामा एक/एक जनाले सेवा लिएका छन् ।

पुस महिनामा जबरजस्ती करणी पीडित ९ जना, शारीरिक हिंसाका ४ जना, जबरजस्ती विवाहका एक जना, घरेलु हिंसाका ३ जना र अन्य हिंसाका ६ जना पीडित केन्द्रमा पुगेका श्रेष्ठले बताउनुभयो । माघ महिनामा जबरजस्ती करणीको घटनाका ३ जना, यौनजन्य हिंसामा १ जना, शारीरिक हिंसामा ६ जना, जबरजस्ती विवाहका ५ जना, घरेलु हिंसाका ३ जना पीडितले सेवा लिएको जनाइएको छ । यस्तै, फागुन महिनामा ६ जना जबरजस्ती करणी, २–२ जना यौनजन्य, शारीरिक, घरेलु हिंसाका, ३ जना जबरजस्ती विवाह र ९ जना अन्य समस्याका साथ केन्द्रमा सेवा लिन आएका हुन् ।

चैत महिनामा ५ जना जबरजस्ती करणी, एक–एक जना घरेलु र यौनजन्य, २–२ जना शारीरिक, मानसिक, जबरजस्ती विवाह र ६ जना अन्य हिंसाका पीडितले सेवा लिएका थिए । यस्तै, बैशाख महिनामा १२ जना जबरजस्ती करणी, ३–३ जना यौनजन्य र शारीरिक हिंसा, एक–एक जना घरेलु र जबरजस्ती विवाह र ७ जना अन्य हिंसाका समस्या लिएर आएका थिए । जेठ महिनामा ११ जना जबरजस्ती करणी, ३ जना यौनजन्य हिंसा, एक–एक जना घरेलु र शारीरिक हिंसा, जबरजस्ती विवाह, ३ जना मानसिक हिंसा र १० जना अन्य हिंसाका पीडितले केन्द्रमा सेवा लिन आएका थिए ।

तथ्याङ्कअनुसार साउन महिनामा ३३ जना महिला, एक जना पुरुष र एक जना अल्पसंख्यकले सेवा पाएका हुन् । भदौ महिनामा २८ जना महिला, ४ जना पुरुष र २ जना अल्पसंख्यक, असोज महिनामा १९ जना महिला, कार्तिक महिनामा ९ जना महिला, मंसिर महिनामा १८ जना महिला र एक जना अल्पसंख्यकले सेवा पाएको श्रेष्ठले बताउनुभयो ।

पुस महिनामा २० जना महिला र ३ जना पुरुष, माघ महिनामा २८ जना महिला र एक जना पुरुष, फागुन महिनामा २४ जना महिला र एक जना पुरुष, चैत महिनामा १९ जना महिला, बैशाख महिनामा २७ जना महिला र जेठ महिनामा २९ जना महिला र २ जना पुरुषले सेवा प्राप्त गरेका हुन् । केन्द्रमा मकवानपुरका गाउँपालिकाहरुबाट एक सय १९ जना, नगरपालिकाहरुबाट एक सय २० जना र अन्यत्रबाट २९ जनाले सेवा लिएको केन्द्रले जनाएको छ ।

ओसीएमसीले हेटौंडा अस्पतालका नर्सहरुलाई मात्र नभएर बाहिरका नर्स, स्वयम्सेविकाहरुलाई पनि अभिमुखीकरण गर्दै आएको छ । जबरजस्ती करणी र यौनजन्य हिंसाको अनुसन्धान एउटै भए पनि कानुन फरक हुने प्रहरीको भनाइ छ । जबरजस्ती करणी र यौनजन्य हिंसामा परेका मानिसहरुलाई स्वास्थ्य परीक्षण गराएर आएको रिपोर्टसहित अदालत पठाउने गरिन्छ ।