राजन दाहाल, अध्यक्ष, खेलकुद पत्रकार मञ्च मकवानपुर

आज जुलाई २ तारेख अर्थात विश्व खेलकुद पत्रकारिता दिवस । पत्रकारिताको विकासक्रमले विषयगत पत्रकारिताको अभ्यास आवश्यक र अनिवार्य भएसँगै खेलकुद पत्रकारिता लोकप्रिय र महत्वपूर्ण विधाको रुपमा स्थापित भइसकेको छ । आज खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यावसायिकताका लागि विश्व भरि चर्चा गरिन्छ । सन् १९९४ बाट यस दिवस मनाउन थालिएको हो । यसै सन्दर्भमा खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष राजन दाहालसँग समृद्ध समाज दैनिकका संवाददाता सुसन लामिछानेले गर्नुभएको कुराकानीः

समाजः खेलकुद पत्रकारिता विशिष्ट विधाका रुपमा स्थापित हुँदैछ । मोफसलमा खेलकुद पत्रकारिता विधाको अवस्था कस्तो छ ?
दाहालः पक्कै पनि खेलकुद पत्रकारितालाई संघीय राजधानीका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले विशेष रुपमा लिने गर्छन् । संघीय राजधानी काठमाडौं जिल्ला बाहेकका अन्य जिल्लाका वा स्थानीय तहका मिडियाहरुले चाहि खेलकुद पत्रकारितालाई विशेष रुपमा लिइएको भेटिँदैन । यद्यपि जिल्ला वा स्थानीय तहमा रहेका पत्रपत्रिका तथा समाचार माध्यमहरुले विशेष प्राथमिकताका साथ प्रकाशन वा प्रसारण भने गरिरहेका छन् । काठमाडौं जसरी स्पेशल बिट नै छुट्टाएर तथा स्पेशल फोर्स खडा गरेर अन्य स्थानमा रिपोर्टिङ गरेको चाहि पाइन्न ।

समाजः मकवानपुरमा चाहि खेलकुद पत्रकारिताको अभ्यास कस्तो छ ?
दाहालः २०७० सालअघि र पछि स्थापना भएका सञ्चार माध्यमहरुले विशेष प्राथमिकता दिइरहेको छ । खेलकुदका कुनै पनि गतिविधी, समाचार आफ्नो समाचार संस्थाको जनशक्ति परिचालन गरेर प्राथमिकता दिएर प्रकाशन र प्रसारण गरिरहेको छ । टेलिभिजन माध्यममा पनि दृश्यसहितको समाचार प्रसारण भैरहेको छ । जुन हिसाबले अहिले अभ्यास भैरहेको छ यसलाई सकारात्मक रुपले लिनुपर्दछ ।

समाजः अहिले मुलुकमा लकडाउन छ । खेलकुदका गतिविधी ठप्प छन् । यस्तो अवस्थामा खेलकुद पत्रकारले के कस्ता विषय–वस्तुमा ध्यान दिनुपर्ला ?
दाहालः पक्कै पनि कोरोना संक्रमणको समयमा जिल्लामा वा केन्द्रमा खेलकुदका गतिविधि न्यून छन् । आर्थिक, सामाजिक गतिविधि शून्य छन् । सरकारले लकडाउन घोषणा गर्दा गतिविधि भएको छैन ।

समाजः खेलकुद पत्रकारिताले मोफसलको खेलक्षेत्रमा कस्तो योगदान गरेको देख्नुहुन्छ ?
दाहालः पछिल्लो समय संघीय राजधानीबाट ठुलो मिडियाले मात्र खेलकुदका समाचार प्रकाशन गर्ने गरेको सुने तापनि अहिले जिल्ला बाहिर रहेको खेलकुद पत्रकारहरुको लगाव बढेको पाइएको छ । जुन हिसाबले समाचार बाहिर आइरहेका छन् मोफसल भने तापनि काठमाडौं बाहिर रहेको जिल्लामा पनि खेलकुदका समाचार मिडियामा प्रकासन÷प्रसारण भैरहेका छन् । संघीय राजधानीले जति प्राथमिकता दिन नसकेपनि यसलाई मैले सकारात्मक रुपमा लिएको छु । जिल्ला बाहिर खेलाडिको बारेमा लेख्नु, खेलको प्रक्रियाको बारेमा लेख्नु, खेलाडीको नाम आउनु महत्वपूर्ण हुन्छ । यो सकारात्मक हो जस्तो लाग्छ ।

समाजः खेलकुद पत्रकारिताको अभ्यासमा के कस्ता असहजता रहेको देख्नुहुन्छ ?
दाहालः पक्कै पनि असहजता छन् । जिल्ला बाहिर बसेर कुरा गर्नुपर्दा संचार क्षेत्रमा खेलकुदका क्षेत्रमा योगदान पुगेको भने योगदान गर्न सकेको छैनौं । समाचार संस्थामा रहेको योगदान दिएपनि त्यो अनुसार हुन सकेको छैन । खेलकुदका बारेमा जिल्लामा रहेको समाचारको संस्थालाई समय समयमा सम्मान गर्ने गरेको छ । यसकारण पनि खेलकुदमा योगदान गरिरहेका छन् । मकवानपुरका खेलकुद पत्रकार मञ्चको हैसियतले सबै समाचार माध्यमहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

खेलकुद पत्रकार दिवसमा के भन्न चाहनुहुन्छ ?
दाहालः गत वर्षजस्तो यो वर्ष जिल्लामा कुनै कार्यक्रमहरु निर्धारण छैन । जिल्ला केन्द्रमा संक्रमणका कारण कुनै कार्यक्रम गर्ने योजना छैन । आगामी वर्ष यसलाई विशेष रुपमा मनाउने प्रयत्न गर्नेछौं । खेलकुदको विकासमा खेलकुद पत्रकारिताको भूमिका बढाउने प्रयासमा रहनेछौं । खेलकुद क्षेत्रमा कलम चलाउने सबै अग्रज पत्रकार तथा सहकर्मी एवम् नयाँ पुस्ताका सञ्चारकर्मी साथीहरुलाई शुभकामना व्यक्त गर्न चाहान्छु ।