हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठकमा २ दिनदेखि लगातार विनियोजन विधेयक २०७७ माथि छलफल भैरहेको छ । मंगलबारदेखि सुरु भएको छलफलमा ४ जनाले बोलेका थिए । बुधबार बोल्ने अधिकांश सांसदहरुले बजेटको विरोध गरेका छन् ।

बजेटमाथिको छलफलमा भाग लिनुहुँदै मकवानपुरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद सन्तबहादुर प्रजाले बजेट विभेदकारी भएको भन्दै जनताले त्यसबाट फाइदा लिन नसक्ने दावी गर्नुभयो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रस्तुत गर्नुभएको बजेट सत्तपक्षको केही जल्दोबल्दो नेताको खल्तीमा हालेको र मन्त्रीको आसेपासेको योजनामा मात्र बजेट परेको भन्दै विरोध गर्नुभयो । उहाँले वर्षौनी मानिसहरु भीरबाट लडेर मर्ने गरेको राक्सिराङको परेवा भीरको बाटो बनाउन बजेट विनियोजन नभएको, चितवनको भण्डारा हुँदै काँकडा, खैराङ जाने बाटो निर्माण गर्न पनि बजेट विनियोजन नगरेको प्रति आपत्ति जनाउनुभएको छ ।

सांसद बद्री मैनालीले विनियोजन विधेयक २०७७ मा विभिन्न किसिमका स्वास्थ्य, शिक्षा, कृषि कार्यक्रमहरु ल्याएको भन्दै बजेटको बचाउ गर्नुभएको छ । उहाँले बजेटको आकार जत्रो भएपनि खर्च गर्ने प्रक्रियालाई बलियो बनाउन नसक्दा जसको क्षेत्रमा जति बजेट लगेपनि त्यसको औचित्य नहुने स्पष्ट पार्नुभयो । सांसद राधा घलेले विनियोजन विधेयक असान्दर्भिक रहेको बताउनुभएको छ । कोरोनाको कहरमा बजेटको आकार घटाएर ल्यानुपर्नेमा खर्च नै गर्न नसक्ने गरी ५१ अर्बको बजेट ल्याएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । गत वर्ष ४७ अर्ब ६१ करोड बजेट मध्ये २९ अर्ब ४२ करोड खर्च भएको र राजस्व २२ अर्ब ७७ करोड उठाउने लक्ष्य लिएकोमा अहिले ६ अर्ब ८५ करोड मात्र उठाउन सफल भएको बताउनुभयो । त्यस्तै अहिले आएर ३५ अर्ब राजस्वमा २१ अर्ब कर उठाउने लक्ष्य राख्नु भनेको हावादारी कुरा रहेको उहाँले प्रष्ट गर्नुभयो । उहाँले आगामी कार्यक्रम भद्रगोल रहेको भन्दै अर्बौं बजेट मन्त्रालयले विविध शिर्षकमा अबाण्डामा राखेको बताउनुभयो ।

सांसद राजाराम कार्कीले पर्यटन क्षेत्र ठप्प रहेको, उद्योग धन्दा नचल्दा व्याज तिर्न समेत नसक्ने अवस्था भएको र बैंकको व्याज उठ्न नसक्ने अवस्थामा रहँदा त्यसतर्फ केन्द्रित बजेट नभएको टिप्पणी गर्नुभयो । सांसद केशव स्थापितले सुरुङमार्गको निर्माण गर्न संघीय सरकरको साथ लिनुभन्दा पनि विदेशी ऋण लिएर काम सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । बजेट सहि आएको तर बजेटमा कोण मिलाउन नजानेको बताउनुभयो । सांसद नरोत्तम वैद्यले अहिलेको बजेट जनमुखी, समाजवादी बजेट नभएको भन्दै जस्ताको तस्तै समर्थन नसक्ने चेतावनी दिनुभयो । उहाँले सांसद विकास कोषको बजेट कोरोना कोषमा राख्न आग्रह प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । सांसद गीता वाग्लेले अहिले बजेट गरिबमुखी नभएको भन्दै गरिबमारा बजेट आएको बताउनुभयो । उहाँले उद्योग कलकारखाना खोलेर गरिबहरुलाई काम गर्ने वातावरण मिलाउन प्रदेश सरकारसँग अपिल गर्नुभयो ।

सांसद कृष्णलाल भँडेलले बजेट आफ्नो क्षेत्र र क्षेत्रभित्र पनि कार्यकर्ता लक्षित गरी आएको बताउनुभयो । सांसद बिजुली बर्मा रानाले जनता प्रदेश सरकारबाट टाढा हुँदै गएको र अब प्रदेश सरकारले केन्द्र सरकारको फेर समाउन छाडेर स्वतन्त्र र स्वाधिन हुनुपर्ने बताउनुभयो । सांसद रामकुमार अधिकारीले भने बजेट समाजवाद नभई समाजवाद उन्मुख भएको भन्दै बजेटको स्वागत गर्नुभयो । सांसद भीमसेन खत्रीले आर्थिक मन्त्रीले बागमती प्रदेश बाहेकका भित्रका १३ जिल्ला बाहेकका जिल्लाहरुमा पनि विभिन्न शिर्षकहरुम बजेट राखेको बताउनुभयो । उहाँले मुख्यमन्त्री, मन्त्रीहरुको जिल्लाहरुमा मात्र प्रशस्त योजनाहरुमा बजेट विनियोजन गरिएको भनेर गुनासो गर्नुभयो ।

मन्त्रीले विभिन्न शिर्षकहरुमा प्रदेशका १३ जिल्ला बाहेका जिल्लाहरुमा पनि बजेट छुट्टाएको भन्दै अर्थमन्त्रीको पर्दाफास गर्नुभएको छ । सन्तुलन नमिले बजेट कहाँजाने भन्दै मुख्यमन्त्री र मन्त्रीहरुको जिल्लाहरुको जिल्लामा योजनाहरु प्रशस्त छुट्टाएको बताउनुभयो । सांसद जिवन डंगोलले प्रदेश सरकारले आगामी बजेटमा कृषिमा ५ लाख १० लाख छुट्टाएर कनिका छरेको जस्तै बजेट छुट्टाएको बताउनुभयो । यसले भोलिका दिनमा कृषि उत्पादन, पारदर्शिता र सुशासन कायम हुन नसक्ने बताउनुभयो । त्यस्तै सांसद दिपेन्द्र श्रेष्ठले पनि मन्त्रीहरुले अर्बौ रुपैयाँ अबन्डामा राखेर आफुनिकट कार्यकर्तालाई बाड्ने गरेको बताउनुभयो । बुधबार भएको विनियोजन विधेयक २०७७ को छलफलमा सांसदहरु कल्पना नेपाली, राजेन्द्र गुरुङ, सरस्वती बस्नेत, रजनी अमात्य लगायतकाले बोल्नुभएको थियो । आज बिहीबार दिउँसो १ बजे बागमती प्रदेश सभामा पुनः छलफल जारी रहने उपसभामुख राधिका तामाङले जानकारी दिनुभएको छ ।