हेटौँडाः नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत मतगणनाको कार्य सुरु भएको छ । आइतबार राति अबेर सम्पन्न निर्वाचनको मतगणना सोमबार बिहान १० बजेबाट सुरु भएको हो ।
हेटौँडा–४ स्थित पशुपति मन्दिरको सभाहलमा मतगणना कार्य भइरहेको छ । सोमबार नै नतिजा सार्वजनिक गर्ने गरी मतगणना कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ । एमाले मकवानपुरको नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनमा ७ सय ६५ प्रतिनिधिले मतदान गरेका छन् । मतदानमा ७ सय ७७ जना प्रतिनिधि मध्ये १२ जना अनुपस्थित रहेका थिए । मतदान कार्य निर्धारित समयभन्दा ३ घण्टा ढिलो गरी सुरु भएको थियो ।
एमाले मकवानपुरको नेतृत्वका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा देवराज रिमाल, इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल र लालबहादुर थापाको उम्मेदवारी रहेको छ । यस्तै उपाध्यक्ष पदमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ भने सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट र राजन थापाको उम्मेदवारी रहेको छ ।
उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज जर्गा मगरको उम्मेदवारी रहेको छ भने उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी रहेको छ । एमाले मकवानपुरको ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन भएको हो ।