प्रदेश सभामा जारी नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी कुन्दनराज काफ्ले ।

हेटौँडाः बागमती प्रदेशका प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले कानुन मन्त्रालयले कानुन बनाउन छाडेर प्रहरी चौकी बनाउन लागेको बताउनुभएको छ । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा सहभागी हुनुहुँदै शुक्रबार प्रदेश सरकारले कानुन निर्माण गर्न छाडेर प्रहरी चौकीको भवन निर्माण गर्दा विकासले गति नलिने बताउनुभयो ।

जनताको सेवामा लगानी नगरी प्रहरी चौकी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय लाखौं, करोडौं बाँडेर बसेको बताउनुहुँदै काफ्लेले विश्लेषण नै नगरी नीति तथा कार्यक्रम बनाउने, बजेट हाल्ने अभ्यास भइरहेको बताउनुभयो । विभिन्न कर उठाउनु पर्र्ने ठाउँमा सरकारले कर उठाउन नसक्नु बजेट घाटामा प्रस्तुत गर्नु सरकारको कमजोरी भएको उहाँले बताउनुभयो । वर्तमान सरकारले आफ्नै दल भित्रका सांसदको विश्वासको पात्र बन्न नसकेको उहाँको भनाई छ । प्रदेश सरकारले फरक ढङ्गले नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा सरकारले हिजोकै शैलीमा ल्याएको बताउनुभयो । संघीयताले जातजाति, धर्म, संस्कृति सबैलाई समेट्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै उहाँले गुनासो गर्नुभयो । अहिलेको बजेट बिचौलियाको हातमा रहेको उहाँले आरोप लगाउनुभयो ।

प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा मन्त्रीहरुले प्रदेश सभामा पछाडि फर्केर प्रदेश सभा सदस्यलाई ताली बजाउन इशारा गरिरहेको दृश्य देख्नुपरेको उल्लेख गर्नुहुँदै कामको उपलब्धी व्याख्या नगरी नीति तथा योजना मात्रै प्रस्तुत गरिएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी नभएरै विभिन्न संकाय बन्द हुने अवस्थामा पुगेको जीकिर गर्नुहुँदै नयाँ विश्वविद्यालय स्थापना गरेर कार्यकर्ता भर्ती गर्ने नियत लिएको आरोप लगाउनुभयो । विश्वविद्यालयको तुलना अनुसन्धान केन्द्र स्थापना गर्न काफ्लेले सुझाव दिनुभयो । विद्यालय मर्जको कुरा, विद्यालय शिक्षाको कुरा गरिरहेको प्रदेश सरकारले आफ्नो कार्यक्षेत्र हो होइन भनेर स्पष्ट हुन नसकेको पनि उहाँको भनाइ छ ।