आशिष दुलाल

आईतबार मात्र हेटौंडामा चोरीको घटना आयो, सानोपोखरा मनकामनाचोकबाट चोरी गर्दैगरेको अवस्थामा हल्लाखल्ला मार्फत केहि मान्छेहरु समातिए । प्रहरी आयो, चौकी लग्यो र आवश्यक प्रक्रिया थालियो सामान्य अनि नियमित प्रक्रिया । तर यो सामान्य प्रक्रिया भइरहँदा घटना सोचे जस्तो सामान्य थिएन । रातीे ९ बजेको आसपासमा कसैको छतमा शंकास्पद व्यक्तिहरु अर्काको घरमा दराज खोलेर ब्ल्याङ्केट, तन्नाहरु अर्को घरको छतमा लैजाँदै गरेको अवस्थामा स्थानीयवासीले थाहा पाए र हारगुहार गरे । भाग्दै गरेको अवस्थामा उनिहरु समातिए, अझ घटनाको गहिराईले अर्को मोड लियो ।

मनकामनाचोकमै डेरा गरी बस्ने १५ बर्षका एक बालक जसको सौतेनी आमा छिन् र बुवा बैदेशिक रोजगारीमा छन् । उनको योजनामा हेटौँडामा अस्थायी वसोवास गर्ने अन्य ५ जना केटाकेटीहरु आईपुग्छन् । सबैको उमेर १२ बर्षदेखि १७ बर्षसम्मको छ । उनिहरुले कसैको जन्मदिन मनाउने वहानामा त्यहाँ भेला भएका हुन्छन् । ३ जना बालक र ३ जना बालिका प्रायः सबैले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेका छन् । जसमध्ये बालिकाहरुले पार्टीमा लगाउने जस्तो छोटो कपडा लगाएका छन् । कसैको हातमा जन्मदिनको उपहार फूल पनि देखिन्छ । एकजना बालक जसको हात प्लास्टर गरिएको छ, उनि बाटोमा स्थानीयको गतिविधि नियाल्न चनाखो भएर बस्छन् र अरु केटाकेटीहरु बर्थ डे मनाउने र अन्तरंग पार्टीको योजना लिएर छतमा पुगेर अर्को घरको दराजबाट सिरक डसना बोकेर ल्याउन थाल्छन् । पटक–पटक टापटुप सामान छतैबाट हराएर आजित भएका स्थानीयवासी सरोज देवकोटाले आवाजको सुईको आउने बित्तिकै चिच्याउँछन् र डरले भाग्दै गर्दाका केटाकेटीहरु समातिन्छन् ।

टोलमा टापटिप सामान, मोवाईल, ल्यापटप, जुत्ता हराउन थालेको पटकौं भैसक्यो । पीडितले प्रहरीकोमा उजुरी पनि दियो तर दोषी पत्ता लागेको छैन । यसैबीच रंगेहात पक्राउ परेका अभियुक्तहरु चोरीको उद्देश्य भन्दा पनि लागुपदार्थ दूव्र्यसन, यौन दुव्र्यसनी तथा अन्य कुलतमा फसेको देखिन्छ । बालमैत्रीको ढ्वाङ थर्किरहँदा उपमहानगरपालिकाको आडैमा रहेका बालबालिकाहरुका समूह यस्तो अवस्थामा भेटिनु स्थानीयवासीलाई नौलो लाग्यो तर यो घटना पहिलो पटक नभएको प्रहरी बताउँछ ।

हेटौँडामा चोरीका घटना फाटफुट सुन्दै आएको घटना हो । बढ्दो सहरीकरणसँंगै यस्ता घटनाहरु हेटौँडा मात्र होइन विश्वका धेरै सहरले चोरी, लुटपाटको समस्या भोगिरहेको छ र हुन्छ तर यस्तोमा प्रहरी–प्रशासनको भूमिका र आफ्नो सुरक्षामा सम्बन्धित व्यक्तिको सजगताले यस्ता घटनालाई मलजल गर्ने या निरुत्साहित गर्ने भनेर तय गर्दछ । यो आलेखको मुख्य उद्देश्य चोरीको घटना र यसका कारणहरु पत्ता लगाउने तर्फ केन्द्रित छैन । बरु दोश्रो उद्देश्यको रुपमा चर्चा गर्न सकिएला ।

हेटौँडामा १० देखि १५ जना बालिका, किशोरीको समूह रहेको र चोरी, यौन धन्दा, झै–झगडामा संलग्न हुने गरेका र पटक–पटक समातेर प्रहरीले हिरासतमा राख्दै छोड्दै गर्नुपरेको अवस्था रहेको नाम उल्लेख नगर्ने शर्तमा एकजना प्रहरी बताउँछन् । अझ प्रत्येक पटक समातिँदा फरक र नयाँ किशोरहरुका साथमा भेटिने गरेको र अभिभावकले खासै चासो नराख्ने गरेको उनको भनाई छ । त्यतिमात्र नभई बालमैैैत्री उपमहानगरमा सञ्चालन हुने मेला महोत्सव बालबालिकालाई जोखिममा लैजाने प्रमुख माध्यम बन्दै गैरहेको र सजग बन्न उनले सुझाव समेत दिए । लेखक आफैंले घटनामा संलग्न एक जना बालिकाको अभिभावकसँग कुरा गर्दा बालिकाको आमा र बुवा अलग भएको बुवाले दोश्रो बिहे गरेको र पढाई छाडेर पटक–पटक स्केटिङपार्क, हुप्रचौर, बुद्धचोक आदि स्थानमा शंकास्पद अवस्थामा भेटेर बुवाले लैजाँदा समेत पुनः फर्केर पुरानै दिनचर्यामा आएको थाहा पाउँदा बालिकाहरुलाई एकदिन सिविन र माईती नेपाल राखेर घर फर्काउनु भनेको स्थानयि सरकार र प्रहरीको झारा टार्ने काम मात्रै देखिएको छ ।

जोखिममा रहेका बालबालिकाहरुका लागि जिल्लामै ४ वटा बालगृह छन् तर सबैका आफ्नै प्रकृति भएको र अन्य पालिका र जिल्लाका बालबालिकाको व्यवस्थापन गर्न हेटौँडा उपमहानगरलाई मात्रै कठिनाई हुने र थुपै्र व्यवहारिक कठिनाई भएका हेटौँडा उपमहानगरपालिकाकी बाल संरक्षण निर्देशक बिष्णु कुमारी लामिछानेको भनाई छ । घटनामा संलग्न अधिकांश अन्य गाँउपालिकाबाट अस्थायी बसाईसराई गरेर आएका छन् भने ज्याला मजदुरी गर्ने पारिवारिक माहोलका बालबालिकाहरु रहेका उपमहानगरपालिकाले वडा मार्फत टोलविकास हुँदै पर्याप्त र संगठितरुपमा अस्थायी बसोबास गर्ने डेरावाला र श्रमिक समुदायसम्म पुग्न नसकिएको स्पष्ट देखिन्छ । कक्षा ६ मा तीन पटक दोहो¥याउनुको पिरले स्कुल छोडेर गाँजाको लत रोजेका लाग्ने विकास हुन् या आफ्नै पुख्र्यौली थलो कुलेखानी पढ्न लैजान्छु भनेर बालबालिकाको भविष्य अन्यौल पार्ने अभिभावक अथवा पुनः भर्ना लिन नमान्ने सिद्धार्थ माविका विद्यालय प्रशासन, यी सबै बालमैत्री अभियानका बाधकहरु हुन् भनेर स्पष्ट देखिन्छ ।

वडा कार्यालयले विद्यालय बाहिर बालबालिका देख्दैन । विद्यालयले विद्यालयबाट बाहिरिएका बालबालिकाको बारेमा वडामा फिटिक्कै भन्दैन, अभिभावक जेल परेका बालबालिका आजलाई छुटाउन पाए पुग्यो भन्ने सोचेर मजदुरीमै दौडिन्छन् । यस्तो अवस्थामा बालमैत्री स्थानीय शासन अवलम्बन घोषणा गरिहाल्न हतारो गर्नु भनेकोे आफ्नै बाटो र आफ्नै गतिमा फलाक्दै “लागे पाए बुढाको दोष, बुढा नभए बुढीको दोष, मेरो हैन तेरो दोष” भन्दै बिच्छी मन्तर लागेकोे अभिनय गराई जस्तै देखिन्छ ।