सांकेतिक तस्वीर ।

हेटौँडाः विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । चितवन र सिन्धुलीमा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिका–३, शान्तिचोकमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका–८ का ३३ वर्षीय प्रविण कुँवर रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहान पूर्व–पश्चिम सडकखण्डमा टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ३७ प ४९०९ नम्बरको मोटरसाइकललाई नम्बर र पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा कुँवर गम्भीर घाईते भएका थिए । कुँवरलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा मंगलबार बिहान १ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, कात्तिकेमा ट्रयाक्टर आफै अनियन्त्रित भई सडकबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका–२ बस्ने ३१ वर्षीय रोशन बहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार कात्तिकेबाट खोक्लिङ जाने भित्री कच्ची सडक खण्डमा ग्वालटारबाट खोक्लिङ जाँदै गरेको ना ६ त २२२४ नम्बरको गिट्टी लोड गरेको ट्रयाक्टर आफै अनियन्त्रित भई सडकबाट १ सय २० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटना चालक सडकबाट ६० मिटर तल रुखमा अड्की मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–३, जिर्घा बोक्सेटारमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४० वर्षीय चक्र बहादुर माझी रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ९ बजेको समयमा माझी घरबाट ३ सय मिटर पूर्वमा रहेको दिर्घा खोलामा माछा मार्न गएकोमा दिउँसो १२ बजे खोलामा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।