हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको ६ दिने रोजगारीसम्बन्धी गोष्ठी सम्पन्न भएको छ । बैशाख २३ गते बुधबारदेखि सुरु भई २८ गते सोमबारसम्म सञ्चालन भएको गोष्ठीमा १६ जना विद्यार्थीले रोजगारी प्राप्त गरेको विद्यालयका व्यवस्थापक संयोजक निरज श्रेष्ठले जानकारी दिनुभयो ।

गोष्ठीमा विभिन्न १४ वटा कम्पनीका उद्योगपति र कलेजमा अध्ययनरत बीबीए, बीसीए, बीआईएम र एमबीएस अध्ययनरत ६० जना विद्यार्थीहरुबीच अन्तरक्रिया भएको थियो । उद्योगी, व्यवसायीले विद्यार्थीसँग अन्तरबार्ता लिएर १६ जनालाई रोजगारी दिइएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । गोष्ठीबाट उद्योगहरु र शैक्षिक संस्थाहरुबीच प्यानलसमेत बनेको छ । प्यानलको आईटी वित्तीयमा सुरेन्द्र लामा, आईटी उत्पादनमा नुररानी ढुङ्गेल र शैक्षिकविज्ञ प्रद्युम्न उपाध्याय रहनुभएको छ ।

कलेजले प्रत्येक वर्ष गोष्ठी आयोजना गर्दै आएको छ । यसको उद्देश्य विद्यार्थी र उद्यमीबीच भविष्यको लागि रोजगारीको अवसर सिर्जना, बजारमा चाहिने सिपअनुसार विद्यार्थीलाई उद्यमशीलता तालिम दिई विद्यार्थीको भविष्य सुनिश्चित गर्ने रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको सहायक प्रधानाध्यापक रामपण्डित खनालको सभाध्यक्षता तथा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको आतिथ्य रहेको थियो ।