हेटौंडाः हेटौंडामा समकालीन नेपाली साहित्यमा लैङ्गिक चेत विषयक बहस कार्यक्रम भएको छ । आँचल साहित्य कलापुञ्ज मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको वृहत् साहित्यिक सांस्कृतिक कार्यक्रममा नेपाली साहित्यमा लैङ्गिक चेत विषयक बहस कार्यक्रम भएको हो ।
सुवास खनालको सहजीकरण तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेश निखिलको अभिभावकत्वमा भएको बहस कार्यक्रममा नेत्र एटम, घनश्याम घिमिरे र प्रभा बराल बहसकर्ताको रुपमा सहभागी हुनुभएको थियो । बहसकर्ता एटमले महिला र पुरुष कति प्रतिशतले विभेदमा परिहरेको छ भन्ने कुरा बुझ्नुपर्ने बताउनुभएको छ । लैङ्गिक विभेदको कुराहरुलाई स्वीकार गरेर किन यस्तो घटनाहरु बढिरहेको छ ? भन्ने कुरा बुझ्नुपर्ने उहाँले बताउनुभयो ।
हामीले सबै महिलाहरुसँग कुरा गर्ने क्रममा बोलेको भाषा महिलामैत्री छ कि छैन भन्ने कुरा बुझनुपर्ने एटमले बताउनुभयो । कतिपय मानिसहरुले महिलाहरुको शारीरिक रङ, बनावट र उनीहरुको व्यवहारको आधारमा विभेद गर्ने गरेको उहाँको भनाइ छ । पारिवारिकरुपमा हुने विभेदलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा सबै व्यक्तिहरु लाग्नुपर्ने उहाँले बताउनुभयो । पहिलेको समयमा पुरुषको निर्णयबमोजिम महिलाहरुले गर्भपतन गर्नुपर्ने बताउनुभयो । साहित्यको माध्यमबाट महिलाले भोगका कुराहरुलाई यथार्थवादीरुपमा चित्रण गर्नुपर्ने उहाँले दावी गर्नुभएको छ ।
बहसकर्ता बरालले पहिलाको समयमा महिलालाई कोटा नदिने अवस्था रहेको बताउनुभएको छ । सामुदायले महिला र पुरुषको विरुद्ध भन्दा समाजलाई साहित्यको माध्यमबाट प्रभाव पार्न सक्नुपर्ने बताउनुभयो । विभिन्न राष्ट्रिय अनलाइन पत्रिकामा प्रकाशन भएका कुरालाई बुझेर लैङ्गिक चेतको विषयमा बुझाउने गरेको उहाँले बताउनुभयो । नारीवाद भनेको पुरुषलाई पछाडि पार्नुभन्दा पनि सबैसँग सहकार्य गरेर अगाडि बढ्नु हो भन्ने कुरा उहाँले स्पष्ट पार्नुभएको छ ।
घिमिरेले लैङ्गिकता भन्नेवित्तिकै पुरुष, नारी र तेस्रो लिङ्गीका कुराहरु बुझ्नुपर्ने बताउनुभयो । कतिपय समाजहरुमा पुरुषभित्र पोथीपन र महिलाभित्र भालेपन देखिने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा तेस्रो लिङ्गीको कुराहरु उठेको उहाँले बताउनुभयो । नारीमा भएको भालेपनले गर्दा कतिपय पुरुषहरुले पनि पीडा भोग्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । पछिल्लो समयमा लैङ्गिक दृष्टिकोणलाई फरक तरिकाले हेर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
नारीवादी साहित्यमा पनि विभिन्न प्रकारको समस्या देखिएकाले नेपाली साहित्यिक क्षेत्रको माध्यमले लैङ्गिक चेतनालाई पनि उठान गर्न आवश्यक रहेको उहाँको भनाइ छ । विभिन्न प्रकारको चलचित्रमा पुरुषहरुलाई बलियो पात्रको रुपमा परिचित गराएर महिलालाई अत्याधिक रुपमा कमजोर पात्रको रुपमा परिचित गराउने गरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । वि.सं २०५० सालपछि अतिरिक्त भन्ने उपन्यासले तेस्रो लिङ्गीलाई उठान गर्ने गरेको उहाँको भनाइ छ । नारीवादी अभियान सशक्त ढंगले आइरहेको उहाँको भनाइ थियो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निखिलले विभेदरहित समाज बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । पुरुष र महिलाले सहकार्य गरेर नारीवादी समाज बनाउने काममा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा २७ जना साहित्यकाहरुले कविता, गजल र मुक्तक वाचन गर्नुभएको थियो ।